© 2026
पाल्पा । पाल्पाको मुख्य खाद्यान्न बाली धानको रोपाइँ यस वर्ष पनि पर्याप्त वर्षा नहुँदा प्रभावित भएको छ । जिल्लामा हालसम्म करिब ४० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
वगनासकाली गाउँपालिका पोखराथोकका ७० वर्षीय कृषक रामबहादुर कुमाल आफ्नो अनुभव सुनाउँदै भन्छन्, उमेर बढ्दै जाँदा माडी फाँटमा धान रोपाइँ पनि बर्सेनि ढिलो हुँदै गएको देखिरहेको छु । आवश्यक सिँचाइ सुविधा नहुँदा आकाशे पानीकै भर पर्नुपरेकाले पहिलेको तुलनामा रोपाइँ ढिलो भइरहेको छ ।
तिनाउ गाउँपालिका बिस्कुनडाँडाका कृषक ओमबहादुर विक पनि सिँचाइ अभावले खेती प्रभावित भएको बताउँछन् । पहिले असारमै रोपाइँ गरिने खेतमा अहिले असारमै ब्याड राख्नुपर्ने अवस्था आएको छ । ढिलो रोपाइँ गर्नु भनेको उत्पादन घट्नु हो, उनले भने ।
जिल्लाका माडी, अर्गली, हुँगी, सर्देवा, कचल र रामपुरलगायतका फाँटमा धान खेती हुँदै आएको छ । कुल खेतीयोग्य जमिनमध्ये ७ हजार ३९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा मध्य असारसम्म करिब ४० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
माथागढी गाउँपालिका–कसेनीका कृषक ढिलबहादुर दर्लामी जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषिमा देखिन थालेको बताउँछन् । पहिले असार लाग्न नपाउँदै वर्षा हुन्थ्यो । अहिले मध्य असारसम्म पनि वर्षाको प्रतीक्षा गर्नुपरेको छ । पर्याप्त सिँचाइको व्यवस्था नहुँदा ठुलो फाँटमा पनि आकाशे पानीकै भरमा रोपाइँ गर्नुपरेको छ, उनले भने ।
वगनासकाली गाउँपालिकाको नायरका कृषक नन्दबहादुर चिदी सरकारका तथ्यांक र खेतको वास्तविक अवस्था फरक रहेको बताउँछन् । आकाशबाट पानी नपर्दासम्म कसरी रोपाइँ हुन्छ ? उनले प्रश्न गरे ।
कृषि ज्ञान केन्द्रका एक प्राविधिकका अनुसार यस वर्ष मनसुन केही ढिलो सक्रिय भए पनि हालसम्मको रोपाइँ प्रतिशत गत वर्षभन्दा उल्लेख्य रूपमा कम छैन ।
खाद्यान्न उत्पादनको ठुलो सम्भावना बोकेको माडी फाँटमा दीर्घकालीन सिँचाइ योजना नहुँदा धान उत्पादन क्रमशः घट्दै गएको तानसेन नगरपालिकाका प्रतिनिधि राजेश अर्याल बताउँछन् । उनका अनुसार पर्याप्त सिँचाइ र पूर्वाधारको अभावले एक समय खाद्यान्नमा आत्मनिर्भर रहेको माडी फाँट अहिले खाद्यान्नमा परनिर्भर बन्दै गएको छ ।
रामपुर, अर्गली र कचल फाँटमा सिँचाइका योजना बने पनि खेतीयोग्य जमिन बिस्तारै आवासीय क्षेत्रमा परिणत हुँदै जाँदा खेतीयोग्य क्षेत्रफल खुम्चिँदै गएको छ । आकाशे पानीमै निर्भर रहनुपर्ने बाध्यताका कारण धान उत्पादनमा कमी आएको पुराना कृषकहरूको भनाइ छ ।