Butwal Today

डिजिटल लुम्बिनी अवधारणा: लुम्बिनी प्रदेशलाई क्षेत्रीय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

१४ असार २०८३, आइतबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशलाई सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि (आईटी) हबका रूपमा विकास गर्ने उद्देश्यसहित तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनी’ बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाले गरेको थियो भने सीएसआईटी एशोसिएशन अफ नेपाल, रुपन्देही च्याप्टरले सहकार्य गरेको थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, प्राज्ञिक क्षेत्र, उद्योगी, व्यवसायी तथा युवा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ को नीतिगत म्यान्डेट कार्यान्वयनमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा आईटी लिडर चिरन्जीवी अधिकारीले तयार पारेको ‘डिजिटल लुम्बिनी’ अवधारणा पत्र (फ्रेमवर्क) कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

उक्त गुरुयोजनाले काठमाडौँ–बुटवल डिजिटल कोरिडोर र बुटवल–दाङ–नेपालगञ्ज डिजिटल लिंक लाई जोड्ने ‘द्वि–इन्जिन रणनीति’ अघि सारेको छ । यसअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), पेपरलेस सुशासन, डिजिटल स्वास्थ्य, स्मार्ट शिक्षा तथा स्वचालित यातायातलाई विकासका प्रमुख आधारका रूपमा प्रस्ताव गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लुम्बिनी सिटी कलेजका कार्यवाहक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले चिरन्जीवी अधिकारीद्वारा प्रस्तुत ‘डिजिटल लुम्बिनी’ अवधारणाले प्रदेशको समग्र विकासमा नयाँ दिशा दिने विश्वास व्यक्त गरे । उनले कलेजले यस दूरदर्शी योजनाको पूर्ण समर्थन र स्वागत गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका क्यान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नारायण खनालले यस्तो नवीन पहल क्यान महासंघका लागि गौरवको विषय भएको उल्लेख गरे । उनले कार्यवाहक अध्यक्ष अधिकारीले अघि सारेको अवधारणालाई प्रदेशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।

परामर्श कार्यक्रममा बोल्दै सीएसआईटी एशोसिएशन अफ नेपाल, रुपन्देही च्याप्टरका अध्यक्ष कल्पित नेपालले स्थानीय स्तरमै आईटी परियोजनाका लागि लगानी, फन्डिङ र सीप विकासमा जोड दिनुपर्ने बताए । उनले विश्वविद्यालय तथा कलेजहरूमा उद्योग–मैत्री पाठ्यक्रम विकास गर्न आवश्यक रहेको धारणा राखे ।

त्यसैगरी, क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत युवा सशक्तीकरण र राष्ट्रिय विकासलाई गति दिन सकिने बताए ।

लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर रानाले बढ्दो ‘ब्रेन ड्रेन’ रोक्न ठोस नीति र कार्यक्रम आवश्यक रहेको बताए । उनका अनुसार प्रगतिशील स्टार्टअप कानुन, स्थानीय प्रविधि हबको विकास, बीउ पूँजीको व्यवस्था तथा ‘मेड इन नेपाल’ सफ्टवेयर इकोसिस्टमको प्रवर्द्धनमार्फत नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिन्छ ।

डिजिटल लुम्बिनीका प्रमुख रणनीतिहरू
सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा विकास साझेदारबीच सहकार्य विस्तार गर्ने ।
प्रदेशका संवेदनशील पूर्वाधार, डिजिटल क्याबिनेट तथा जनस्वास्थ्यसम्बन्धी तथ्याङ्क सुरक्षित राख्न न्यूनतम साइबर सुरक्षा मापदण्ड लागू गर्ने ।
बुद्ध जन्मस्थल लुम्बिनीका प्रमुख पर्यटकीय स्थलहरू, जस्तै मायादेवी मन्दिर र अशोक स्तम्भमा क्यूआर कोड, एआररभीआर तथा बहुभाषिक डिजिटल गाइडको व्यवस्था गरी स्मार्ट पर्यटन प्रवर्द्धन गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?