Butwal Today

राजा महेन्द्र घुम्न आउने बाउन्नकोटी धाम, अहिले ओझेल पर्यो

२४ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

रविजंग कार्की

हामी बिद्यालय, क्लब, संघ सस्था र व्यक्तिगतरुपमा अनेकौ पटक भैरहवा नजिकको चिल्हिया जंगलमा पिकनिक खान जान्छौ, रमाईलो गर्दछौं र फर्किन्छौं । तर, जंगल भित्र रहेको बाउन्नकोटी धाम, प्राचिन कुवा इनार, दरबार, प्राचिन भौतिक संरचना, वरपरका बिशाल प्राचीन रुखहरु र जंगलभित्र रहेको प्राचीन कुण्ड पोखरी आदी हेर्नकै लागि जानुपर्ने स्थानहरु नहेरी र त्यसको महत्व र प्राचिनताको जानकारी थाहा नपाईकन फर्कन्छौ । किनभने त्यसको बारेमा सोधीखोजी र जानकारी नहुनाले हो ।

आउनुस् आफ्नो वरपर रहेका यी र यस्ता स्थानहरुको पहिचान गरी तिनीहरुको महत्वहरुको बारेमा खुलेर बिचार बिमर्श गरी आन्तरिक पर्यटनलाई जोड दिदै स्थानिय स्रोत साधन पहिचान गरि परिचालन गरौं । यो क्षेत्रलाई नेपाल सरकारको पुरातत्व बिभागले पुरातत्व क्षेत्र भनी सूचना बोर्ड राखेको बर्षौ भयो तर अहिलेसम्म खासै केही काम भएको छैन । स्थानिय तथा बाउन्नकोटी मन्दिर र सामुदायिक वनका अध्यक्ष तारा छन्तेलद्वारा यो ठाउँमा दैवी शक्ति रहेको र नेपाल राज्यभरीका ५२ वटा शक्ति पिठको प्रतिकात्मक स्वरुप यो ठाउँ रहेको र यस क्षेत्रका साथसाथै छिमेकी राष्ट्र भारतको सिमावर्ती गाउँहरुबाट पनि भक्क्तजन आउने गर्दछन् भनेर भन्नु भएको छ । साथै यही मन्दिर परिसरभित्र यही बर्ष महायज्ञ गरी बाउन्नकोटी धामलाई प्रचारप्रसार गरी गुरुयोजनालाई निरन्तरता दिने भनिएको छ ।

तराईका फाँटहरुमा एक शताब्दी अघि बिशाल सेखुवा (साल), सहदउन, आँप, पिपल, बर, जमुना र सिमलका बिशाल रुखहरु हुने गर्दथे । यस्ता रुखका जंगल खोला नालाको छेउछाउमा यहाँका सबैभन्दा प्राचिन मानव समूह थारु समुदायका केही स–साना गाउँहरु हुने गर्दथे । पछि १७ औ शताब्दी तिर भारतमा मुगल शासन रहँदा अवध मुगलहरुको राजधानी हुन गयो । सोही अवधको धेरैजसो भाग हालको उत्तरप्रदेश हो । मुगलहरुले राजश्व बढाउन र बस्ती विकास गर्न ति तराईका बिशाल वन फडानी गर्न खुल्ला गर्दा धेरैजसो जंगल आवाद गरी गाउँ बनाए । मुगल कालमा त्यसरी अन्य समुदायहरुको आगमन हुन गयो । मुगलकालमा तराईतिर पछि ब्रिटिस राजको कालमा तिनीहरुले पनि राजस्व, कुत उठाउन पुन जंगल फडानी गरी उखु खेती, धान खेतीनिर बजार बसाल्ने र रेलको लिकमा राख्न र डिब्बा बनाउन यही तराईका सेखुवा (साल) का ति पुराना रुख कटानी सुरु गरियो । यसरी दोहन हुदै हालसम्म तराईका बिशाल चारकोसे झाडी भनिने जंगल राष्ट्रिय वन र सामुदायिक वनका नाममा केही बाँकी छन् र यही मध्येको एक हो हाम्रो चिल्हिया जंगल ।

प्राचिन महत्व :

यहाँ भेटिएका इटा र संरचना बौद्धकालिन संरचना सँग मिल्दोजुल्दो रहेको छ । किन भने शाक्य गणराज्य तिलौराकोट, लुम्बिनीदेखि कोलिय गणराज्य देवदह, मद्राहनी, कुँवारी, पण्डितपुर रामग्राम स्थानहरुमा जाँदा आउदाँ को प्राचिन रुट हुन सक्ने अनुमान छ ।
ऐतिहासिक महत्व :

इो जंगलको किनार हाल टाईगर प्यालेस रिसोर्ट रहेको स्थानमा राणाकालिन चर्चित चिल्हिया दरबार जुन नेपालका ७ औ राणा प्रधानमन्त्री जुद्ध शम्शेरले बनाएको दरबार थियो । राणाकालमा राणा जी र ब्रिटिस राजका अफिसर तथा स्थानिय थारु जमिन्दार मिलेर तिहार मानेपछि ६ महिना तराईमा शिकार खेल्ने, जाडो छल्ने चलन हुने गर्दथ्यो । यहीक्रममा तराईमा राणाकालमा गेष्ट हाउस, शिकार घरको रुपमा धेरै भवनहरु बनाए राणाहरुले । त्यसै मध्येको यो पनि हो र अर्को कारण सिद्धार्थ राजमार्ग नबन्दा बुटवलदेखि नौतनवा जाने मुगलकालिन रुट मुख्य बाटो हुने गर्दथ्यो । यो पुरानो सडक अहिले सिद्धार्थ राजमार्गले गर्दा ओझेलमा परेको मात्र हो । यही कारणले राणा जी र सरकारी ठूलो ओहदाका कर्मचारी नौतनवा हुदै गोरखपुर जाँदा सरकारी गेष्ट हाउसको रुपमा पनि थियो यो चिल्हिया दरबार । पछि जुद्ध खलकका छोरीहरु दरबारमा बुहारी भएपछि यो दरबार शाह खलकतिर आएको वा खरिद गरेको हुन सक्छ । यही चिल्हिया दरवारमा राजा महेन्द्र समेत घुम्न आउने गरेको बताईन्छ । राजा महेन्द्र आउँदा चिल्हिया जंंगलमा बाघ मारेको किस्सा पनि छ । समय मिल्यो भने वा त्यो बाटो हिड्दा अवश्य जानु होला र आफ्नो पुर्खाले आर्जेको धरोहरलाई हेर्ने बुझने र संरक्षण गर्ने हामी नै त हो नि । हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?