© 2026
आधुनिक कानुनी प्रणालीलाई सामान्यतया राज्यद्वारा निर्माण र कार्यान्वयन गरिने नियमहरूको समष्टिका रूपमा बुझिन्छ । तर, विभिन्न अनुसन्धान तथा कानुनी अध्ययनहरूले आधुनिक कानुनका धेरै सिद्धान्तहरू प्राचीन नैतिक र दार्शनिक परम्पराबाट प्रभावित भएको देखाएका छन् । तिनै परम्परामध्ये बौद्ध न्यायशास्त्र एक महत्वपूर्ण स्रोतका रूपमा उभिएको छ ।
विशेष गरी गौतम बुद्धद्वारा प्रतिपादित सम्यक् वाणी, सम्यक् कर्म र सम्यक् आजीविकाका सिद्धान्तहरूले आधुनिक फौजदारी न्याय, श्रम कानुन, प्रमाण कानुन तथा सुधारात्मक न्याय प्रणालीमा उल्लेखनीय प्रभाव पारेको कुरालाई देख्न सकिन्छ ।
न्यायशास्त्रका अध्ययनकर्ताका अनुसार बौद्ध दर्शनले कानुनलाई केवल दण्ड दिने माध्यमका रूपमा हेर्दैन । यसले व्यक्तिको आचरण सुधार, सामाजिक सद्भाव तथा सामूहिक कल्याणलाई प्राथमिकता दिन्छ । यही कारणले बौद्ध न्यायशास्त्रलाई नैतिकता र कानुनबीचको पुलका रूपमा समेत व्याख्या गरिन्छ ।
विज्ञहरूका अनुसार बुद्धद्वारा प्रतिपादित विनयपिटक प्रारम्भिक कालको एक प्रकारको कानुनी प्रणाली थियो, जसले बौद्ध संघभित्र अनुशासन कायम गर्ने कार्य गथ्र्यो । विनयपिटकमा मनोसाय, सुनुवाइ, तथ्य परीक्षण तथा सुधारका पक्षहरूलाई महत्व दिइएको पाइन्छ । यिनै अवधारणाहरू आधुनिक न्यायिक प्रक्रियामा पनि विभिन्नरूपमा प्रयोग भइरहेको बताइन्छ ।
बुद्धले बताएका आर्य अष्टाङ्गिक मार्ग अन्तर्गत पर्ने सम्यक् वाणी सिद्धान्तले सत्य, परोपकारी र जिम्मेवार अभिव्यक्तिलाई प्रोत्साहन गर्दछ । यसको विपरित झुट बोल्ने, विभाजन सिर्जना गर्ने वा अपमानजनक अभिव्यक्ति दिने कार्यलाई अनुचित मानिन्छ ।
यही सिद्धान्तको प्रभाव आधुनिक अभिव्यक्ति सम्बन्धी कानुनमा पनि देख्न सकिन्छ । नेपालको मुलुकी अपराधसंहिता २०७४ मा गाली बेइज्जती सम्बन्धी कसुरलाई दण्डनीय बनाइएको छ । व्यक्तिको प्रतिष्ठामा आँच पु¥याउने, झुटो आरोप लगाउने वा अपमानजनक अभिव्यक्ति दिने कार्यविरुद्ध कानुनी उपचारको व्यवस्था गरिएको छ ।
यसलाई बौद्ध दर्शनमा वर्णित गलत वाणीको निषेधसँग तुलना गर्न सकिन्छ । त्यसैगरी अदालतमा झूटो बकपत्र गर्नु, गलत प्रमाण पेश गर्नु वा प्रमाणलाई तोडमोड गर्नु आधुनिक कानुन अन्तर्गत गम्भीर अपराध मानिन्छ । न्यायिक सत्यताको संरक्षणका लागि यस्ता कार्यहरूलाई कानुनले कठोररूपमा नियन्त्रण गरेको छ । सत्य बोल्नुपर्ने बौद्ध शिक्षाले प्रमाण सम्बन्धी आधुनिक कानुनी अवधारणालाई पनि अप्रत्यक्ष रूपमा प्रभावित गरेको देखिन्छ ।
सम्यककर्मको सिद्धान्तले मानिसका कार्यहरूलाई नैतिक जिम्मेवारीसँग जोड्छ । हत्या नगर्नु, चोरी नगर्नु र यौनजन्य दुराचार नगर्नु यसका मुख्य आधारहरू हुन् । आधुनिक फौजदारी कानुनले पनि यिनै कार्यहरूलाई गम्भीर अपराधको रूपमा परिभाषित गरेको छ । बौद्ध दर्शनमा कुनै कार्यको नैतिक मूल्याङ्कन गर्दा मनसायलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।
बुद्धले चेतना वा नियतलाई कर्मको मूल आधार बताएका छन् । यही अवधारणा आधुनिक फौजदारी न्यायशास्त्रमा ‘मेन्स रिया’ अर्थात् अपराध गर्ने मनोसायको सिद्धान्तका रूपमा विकसित भएको कुरा हामीले प्रत्यक्ष देख्न सकिन्छ । आजको कानुनले पनि कुनै व्यक्तिले अपराध गर्ने उद्देश्य राखेको थियो वा थिएन भन्ने विषयलाई सजाय निर्धारणका क्रममा बिशेष महत्व दिन्छ ।
नियतविना भएको दुर्घटना र नियोजित अपराधबीच कानुनी रूपमा स्पष्ट भिन्नता गरिन्छ । यसले बौद्ध न्यायशास्त्र र आधुनिक फौजदारी कानुनबीचको वैचारिक समानता झल्काउँछ ।
नेपालको मुलुकी अपराधसंहिता २०७४ ले ज्यान सम्बन्धी कसुर, चोरी तथा डाँका सम्बन्धी कसुर र करणी सम्बन्धी कसुरमार्फत नागरिकको जीवन, सम्पत्ति र मर्यादाको संरक्षण गर्ने व्यवस्था गरेको छ । यी संविधानहरूलाई सम्यक् कर्मको आधुनिक कानुनी अभिव्यक्तिका रूपमा हेर्न सकिने कानुन अध्येताहरूको धारणा छ । बौद्ध दर्शनको अर्को महत्वपूर्ण पक्ष सम्यक् आजीविका हो ।
यस सिद्धान्तले व्यक्तिको आर्थिक गतिविधि अरूलाई हानी पु¥याउने खालको हुनु नहुने बताउँछ । बुद्धले हतियार, मानव, मदिरा, विष तथा जीवजन्तुसम्बन्धी केही व्यापारहरूलाई अनुचित आजीविकाको रूपमा उल्लेख गरेका थिए ।
आधुनिक राज्यहरूले पनि यस्ता गतिविधिहरूलाई नियमन वा नियन्त्रण गर्ने कानुन बनाएका छन् । नेपालको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनले मानव तस्करीलाई गम्भीर अपराध मानेको छ । त्यस्तै लागुऔषध नियन्त्रण सम्बन्धी कानुनहरूले समाजमा नकारात्मक प्रभाव पार्ने पदार्थहरूको कारोबारलाई सीमित गर्ने प्रयास गरेका छन् ।
श्रम कानुनको क्षेत्रमापनि बौद्ध दर्शनको प्रभाव देख्न सकिन्छ । सिगालोवाद सुत्तमा रोजगारदाता र श्रमिकबीच न्यायपूर्ण सम्बन्ध हुनुपर्ने उल्लेख गरिएको छ । श्रमिकलाई उचित पारिश्रमिक, सम्मानजनक व्यवहार, स्वास्थ्य सुविधा तथा विश्रामको अवसर दिनुपर्ने कुरामा जोड दिइएको छ ।
नेपालको श्रम ऐन २०७४ ले न्यूनतम ज्याला, श्रम सुरक्षा, बिदा, सामाजिक सुरक्षा तथा श्रमिक अधिकारका विषयलाई कानुनी मान्यता दिएको छ । श्रम सम्बन्धमा मानव मर्यादा कायम गर्नुपर्ने आधुनिक अवधारणा र बौद्ध शिक्षाबीच उल्लेखनीय समानता रहेको अध्ययनहरूले देखाएका छन् । वातावरणीय न्यायशास्त्रमा पनि बौद्ध दर्शनको प्रभावबारे चर्चा हुनथालेको छ ।
प्रतीत्य समुत्पादको सिद्धान्तले सम्पूर्ण वस्तु र जीव एकअर्कासँग अन्तरनिर्भर रहेको बताउँछ । वातावरणविद्हरूका अनुसार यही दृष्टिकोणले आधुनिक वातावरणीय संरक्षणको अवधारणालाई बल प्रदान गरेको छ ।नेपालका वातावरण संरक्षण सम्बन्धी कानुनहरूले प्राकृतिक स्रोत, जैविक विविधता र पारिस्थितिक सन्तुलनको संरक्षणलाई प्राथमिकता दिएका छन् ।
मानिस र प्रकृतिबीचको सम्बन्धलाई स्वीकार गर्ने यो दृष्टिकोण बौद्ध दर्शनसँग निकट रहेको बताइन्छ । नेपालको कानुनी इतिहासलाई हेर्दापनि उल्लेखनीय परिवर्तन देखिन्छ । पुरानो मुलुकी ऐन जातीय र परम्परागत सामाजिक संरचनाबाट प्रभावित थियो । तर, वर्तमान संविधान र नयाँ कानुनी संहिताहरूले समानता, सामाजिक न्याय, मानव अधिकार तथा अहिंसाका मूल्यहरूलाई प्राथमिकता दिएका छन् । यी मूल्यहरू बौद्ध दर्शनका आधारभूत तत्वहरूसँग मेल खान्छन ।
हाल विश्वभर दण्ड प्रणाली पनि परिवर्तनको चरणमा छ । केवल सजाय दिने अवधारणाबाट सुधारात्मक न्यायतर्फ ध्यान केन्द्रित भइरहेको छ । बौद्ध न्यायशास्त्रले अपराधीलाई घृणा गर्नुको सट्टा उसको व्यवहार सुधार्नुपर्ने मान्यता राख्छ ।
यही सोच आधुनिक सुधारात्मक न्यायको आधार बनेको मानिन्छ । नेपालको फौजदारी कसुर सम्बन्धी कानुनले सामुदायिक सेवा, खुला कारागार तथा पुनस्र्थापनामुखी कार्यक्रमलाई प्रोत्साहन गरेको छ । यसले अपराधीलाई समाजमा पुनः समायोजन गर्ने अवसर प्रदान गर्दछ । यो दृष्टिकोण बौद्ध करुणा र मानवकेन्द्रित न्याय अवधारणासँग नजिक छ ।
कानुन र नैतिकताको सम्बन्धबारे बहस जारी रहे पनि आधुनिक कानुनका धेरै सिद्धान्तहरू बौद्ध न्याय शास्त्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेको अध्ययनहरूले देखाएका छन् । सम्यक् वाणी, सम्यक् कर्म र सम्यक् आजीविका जस्ता सिद्धान्तहरूले आजपनि न्याय, समानता, मानवमर्यादा र सामाजिक उत्तरदायित्वका विषयमा मार्गदर्शन गरिरहेका छन् ।
अन्ततः बौद्ध न्यायशास्त्रले प्रतिपादन गरेका सम्यक् वाणी, सम्यक् कर्म र सम्यक् आजीविका जस्ता सिद्धान्तहरू केवल धार्मिक आस्था वा आध्यात्मिक अभ्यासको विषयमात्र नभई न्यायपूर्ण समाज निर्माणका आधारभूत मार्गदर्शक सिद्धान्तहरूका रूपमा स्थापित भएका छन् ।
आधुनिक कानुनका विभिन्न क्षेत्रहरू, विशेष गरी फौजदारी न्याय, श्रम अधिकार, मानव अधिकार, वातावरणीय संरक्षण तथा सुधारात्मक न्याय प्रणालीमा यी सिद्धान्तहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देख्न सकिन्छ ।
कानुनको मूल उद्देश्य सामाजिक शान्ति, मानव मर्यादाको संरक्षण र न्यायको स्थापना गर्नु हो, जुन उद्देश्य बौद्ध दर्शनले पनि हजारौँ वर्षअघि नै प्रतिपादन गरेको थियो । त्यसैले बदलिँदो सामाजिक र कानुनी परिवेशमा मानवीयता, करुणा, अहिंसा र उत्तरदायित्वमा आधारित बौद्ध न्याय शास्त्रका मूल्यहरूको अध्ययन तथा व्यवहारिक प्रयोग अझ बढी सान्दर्भिक र आवश्यक बन्दै गएको छ ।