Butwal Today

फुटबलको १० नम्बर जर्सी: महानताको प्रतीक

११ असार २०८३, बिहीबार
अ+
अ-

फुटबलको इतिहासमा केही जर्सी नम्बरहरू केवल अङ्क मात्र हुँदैनन्, तिनीहरू आफैँमा एउटा पहिचान, विरासत र सम्मानको प्रतीक बन्दछन् । त्यस्तै मध्ये सबैभन्दा चर्चित र प्रतिष्ठित नम्बर हो– १० नम्बर जर्सी ।

विश्व फुटबलमा १० नम्बर जर्सीलाई विशेष सम्मानका साथ हेरिन्छ । जब कुनै खेलाडीले १० नम्बर जर्सी लगाउँछ, समर्थकहरूको नजर स्वाभाविक रूपमा उसैमा केन्द्रित हुन्छ किनकि यो नम्बरले केवल खेलाडीको पहिचान मात्र होइन, टोलीको आस्था, सृजनशीलता र नेतृत्वको जिम्मेवारी पनि बोकेको हुन्छ । फुटबलको प्रारम्भिक समयमा जर्सी नम्बर खेलाडीको मैदानभित्रको स्थान अनुसार दिइन्थ्यो ।

गोलकिपरले १ नम्बर, डिफेन्डरहरूले २ देखि ५ नम्बर, मिडफिल्डरहरूले ६ देखि ८ नम्बर र आक्रमणकारी खेलाडीहरूले ९ देखि ११ नम्बर लगाउने परम्परा थियो । यस क्रममा १० नम्बर सामान्यतया टोलीको ’प्लेमेकर’ अर्थात् खेलको गति र दिशा निर्धारण गर्ने खेलाडीलाई दिइन्थ्यो । यही कारणले समयसँगै १० नम्बर प्रतिभा, सृजनशीलता र नेतृत्वको पर्यायवाची बन्न पुग्यो ।

विश्व फुटबलका धेरै महान् खेलाडीहरूले १० नम्बर जर्सीलाई नयाँ उचाइ दिएका छन् ।
१ पेले (ब्राजिल): पेलेले १० नम्बरलाई विश्वव्यापी पहिचान दिलाए
२ डिएगो म्याराडोना (अर्जेन्टिना): म्याराडोनाले १० नम्बर जर्सीलाई जादु र प्रेरणाको प्रतीक बनाए । उनी १९८६ को विश्वकपका महानायक बने ।
३ लियोनल मेस्सी (अर्जेन्टिना):मेस्सीले आधुनिक फुटबलमा यसको गौरवलाई अझ उचाइमा पु¥याए ।

४ जिनेदिन जिदान (फ्रान्स): जिदानले पनि १० नम्बर जर्सीको  प्रतिष्ठालाई निरन्तरता दिए र फ्रान्सलाई विश्व विजेता बनाउने प्लेमेकर भए ।

५ रोनाल्डो (ब्राजिल): रोनाल्डोले १० नम्बरको पहिचानलाई अगाडि बढाउँदै आफ्नो मुस्कान र जादुमय खेलका लागि प्रसिद्ध भए । १० नम्बर जर्सी महान खेलाडीहरूले धेरै लगाएका कारण यो विशेष बनेको हो तर महान खेलाडी बन्नका लागि १० नम्बर जर्सी नै लगाउनुपर्छ भन्ने होइन । जस्तै उदाहरणका लागि

६ क्रिष्टियानो रोनाल्डो (पोर्चुसगल)

विश्वका महानतम खेलाडीमध्ये एक हुन् तर उनको पहिचान ७ नम्बर जर्सीसँग जोडिएको छ । फ्रेन्च बेकनबायर (जर्मनी) ५ नम्बर जर्सीबाट प्रसिद्ध भए । उनले आफूलाई महान डिफेन्डरको रूपमा स्थापित गराए । डेविड बेकहाम (ब्रिटेन) ७ नम्बर जर्सीका कारण चर्चित बने र लोकप्रिय आइकन रूपमा प्रसिद्ध भए ।

यदि १० नम्बर खेल निर्माण गर्ने खेलाडीको प्रतीक हो भने १ नम्बर जर्सी टोलीको अन्तिम रक्षकको प्रतीक हो । गोलकिपरले लगाउने यो नम्बर पनि उत्तिकै सम्मानित छ । त्यसैले जर्सी नम्बरले खेलाडीलाई महान बनाउँदैन, बरु खेलाडीको प्रदर्शनले जर्सी नम्बरलाई ऐतिहासिक बनाउँछ ।

धेरै मानिसहरूको जिज्ञासा हुनसक्छ– यदि १० नम्बर सबैभन्दा प्रतिष्ठित हो भने महान डिफेन्डर वा गोलकिपरलाई किन दिइँदैन यसको कारण ऐतिहासिक परम्परा हो । गोलकिपरका लागि १ नम्बर विशेष मानिन्छ ।

डिफेन्डरका लागि २, ३, ४ वा ५ नम्बर परम्परागत रूपमा प्रयोग गरिन्छ । १० नम्बर खेल सिर्जना गर्ने, गोलका अवसर निर्माण गर्ने तथा आक्रमणको नेतृत्व गर्ने खेलाडीसँग जोडिएको छ । त्यसैले उत्कृष्ट डिफेन्डर वा गोलकिपर भएपनि उनीहरूलाई प्रायः आफ्नै परम्परागत नम्बरहरू दिइन्छ तर नियमले डिफेन्डर वा गोलकिपरलाई १० नम्बर लगाउन रोक्दैन । यो केवल फुटबलको ऐतिहासिक संस्कार र परम्परा हो ।

कतिपय मानिसहरू १० नम्बर जर्सीलाई भाग्य, अंकशास्त्र वा राशीसँग जोडेर हेर्ने गर्दछन् तर फुटबलमा १० नम्बर जर्सी र ज्योतिषबीच कुनै आधिकारिक वा प्रमाणित सम्बन्ध छैन । कुनै खेलाडीले व्यक्तिगत विश्वासका कारण नै नम्बर रोज्न सक्छ तर फिफा वा फुटबल संघहरूले राशी वा अंकशास्त्रका आधारमा जर्सी नम्बर निर्धारण गर्दैनन् । १० नम्बर जर्सी फुटबलको इतिहास, संस्कृति र गौरवसँग जोडिएको एउटा अमुल्य विरासत हो । यो नम्बरले प्रतिभा, सृजनशीलता, आत्म विश्वास, नेतृत्व र जिम्मेवारीको प्रतिनिधित्व गर्छ ।

पेलेदेखि म्याराडोना र मेस्सी सम्मको यात्राले प्रमाणित गरेको छ कि १० नम्बर केवल एउटा अङ्क होइन, फुटबलको आत्मा बोकेको एउटा प्रतीक हो । फुटबलको वास्तविक सुन्दरता यही हो– महानता अंकमा सीमित हुदैन । महानता खेलाडीको समर्पण, प्रतिभा र उपलब्धिमा बस्छ । १० नम्बरले खेलको कथा लेख्छ, १ नम्बरले त्यो कथाको सुखद अन्त्य र सुरक्षित गर्छ । जर्सीको नम्बर फरक हुन सक्छ तर इतिहास बनाउने हिम्मत सबै महान खेलाडीमा समान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?