© 2026
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्य पराजुलीले न्यूजील्यान्ड पठाउने भन्दै रु १६ लाख ६५ हजार, खड्काले लिथुआनिया पठाउने भन्दै रु पाँच लाख तथा पोदारले बेलायत पठाउने भन्दै रु दुई लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जना पक्राउ
बैङ्किङ कसुर मुद्दाका दुई जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–९ का ५६ वर्षीय माधव श्रेष्ठ तथा तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई टोखा नगरपालिका–९ तथा जिल्ला अदालत काठमाडौँको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत एक महिना १५ दिन कैद सजाय र रु दुई लाख २५ हजार जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए ।