© 2026
पश्चिम, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका की उपाध्यक्ष फातुमा खातुन अन्सारी को पद रिक्त भएको छ।
निर्वाचन आयोग ले मंगलबार प्रकाशित गरेको सूचनामार्फत अन्सारीको निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो। आयोगले राजनीतिक दलसम्बन्धी प्रचलित कानुन तथा नियमावलीअनुसार सम्बन्धित राजनीतिक दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा पद रिक्त भएको उल्लेख गरेको छ।
अन्सारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस बाट पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।
स्रोतका अनुसार गत प्रतिनिधिसभा निर्वाचनका क्रममा उनले आफ्नै दलका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गर्दै अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको आरोप लागेको थियो। त्यसपछि काँग्रेसको जिल्ला अनुशासन समितिले आवश्यक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस पठाएको थियो।
पार्टीको केन्द्रीय तहबाट भएको निर्णयपछि सोही विवरण निर्वाचन आयोगमा पठाइएकाले आयोगले कानुनी व्यवस्था अनुसार अन्सारीको पद रिक्त भएको सूचना जारी गरेको हो ।
पार्टीको अनुशासन समितिले लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवार सहित ६ जनाको नाम कारबाहीको लागि सिफारिस गरेको छ ।
