Butwal Today

मनसुन पूर्व तयारीमा किन ढिलाइ ?

९ असार २०८३, मंगलवार
अ+
अ-

यो वर्षको मनसुन ढिलो गरी नेपाल प्रवेश गरेको छ । त्यसको छनक पूर्वी जिल्लामा देखिएको छ । अबको एक दुई दिनमै मनसुन देशै भरी सक्रिय हुने छ । मनसुन सक्रिय भएको ठिक यही बेला प्राकृतिक प्रकोपको जोखिम बढ्ने गर्दछ ।

देशका विभिन्न स्थानमा बाढी पहिरो र त्यसले पु¥याएको बिस्थापनको खतरा पनि बढ्दो छ । यसैगरी सरकारले बिपद पूर्व तयारीमा ध्यान दिन सकेको छैन । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद्का घटना बर्षेनी हुने गरेका छन ।

तर, यो बर्ष सरकारले विपद्को पूर्व अनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रुपमा अघि बढाएको छैन जसका कारण प्रकोपको घटना भैहालेमा क्षतिको अनुपात बढ्न सक्नेतर्फ पूर्व सतर्कता आवश्यक छ ।

गृह मन्त्रालय, प्राधिकरण र सम्बन्धित सरोकारवालाको सहभागितामा उच्च जोखिममा रहेका खोज, उद्धार र राहतको सामाग्री तयारी अवस्थामा राख्नेकुरामा सरकार बेखबर जस्तै वनेको छ ।

विपदको बेला संघीय सरकारमात्रै होइन प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समितिका साथै जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति क्रियाशील रहनुपर्ने व्यवस्था छ तर राज्यका तीनवटै तहबीच विपद् व्यवस्थापनको विषयमा समन्वयको खाँचो देखिएको छ ।

व्यवस्थित विपद् पूर्व तयारीका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विकास, सञ्चार समन्वय, समुदायमा आधारित तालिम र प्रशिक्षण, राम्रो र बलियो पुनः निर्माण आवश्यक हुन्छ । विगतको बर्षमा नेपाल सरकारले यतिबेला विपद्का समयमा खोज तथा उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राख्ने गर्दथ्यो ।

यसवर्ष नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको दावी गरेका छन् । तर, उक्त दावी अनुसारको विपद प्रतिकार्य तयारीको काममा भने शून्यता देखिएको छ । यद्यपि सेना र सशस्त्र प्रहरीले सबै कार्यालयमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा राखेको दावी गरेको छ ।

हरेक बर्ष आउने बाढी र पहिरो नेपालको नियति र नियमित प्रकृया पनि हो । यो जान्दाजान्दै पनि सावधानीको विषयमा सतर्कता अपनाएको पाईदैन् । बर्षा सकिएपछि दुःख विर्सिने र अर्को वर्षको जोखिम सहन गर्न तयार हुनुपर्ने वर्षौदेखिको यो नियति नै हो ।

यस विषयमा सम्वद्ध निकायले ध्यान दिनैपर्दछ । त्यसका लागि दिर्घकालीन गुरुयोजना बनाएर काम अघि बढाउनुपर्दछ । नेपाल सरकारको यस विषयमा ध्यान पुग्नैपर्दछ । अझैपनि समय छ । यो वर्ष थप क्षति हुन नदिनेतर्फको सचेतना आवश्यक छ ।

त्यसका लागि बिपद जोखिमको पूर्व तयारीमा ध्यान दिनु जरुरी छ । सरकार र सम्वद्ध प्रदेश तथा स्थानीय तहले पहिरो र बाढीबाट जोगिन आवश्यक पर्ने सतर्कताका काममा ढिलाइ गर्नुहुँदैन । प्राकृतिक प्रकोपजन्य बिपदका घटना नियन्त्रणका लागि सामूहिक पहल आवश्यक छ ।

सवैभन्दा पहिला नागरिक आफूपनि जोखिम क्षेत्रमा रहेको बसोबास सुरक्षित स्थानमा सार्नेतर्फ पहल गर्नुपर्दछ । यो बर्ष एल निनोका कारण कम बर्षा हुने आँकलन गरिएको छ । तर, बर्षा कतै भारी र आरीघोप्टे पनि हुने गरेको छ । त्यो अवस्थामा बाढीले ठूलो क्षति हुन सक्छ ।

मौसमबीदले भनेकै भरमा बिपद पूर्व तयारी नगर्ने हो भने त्यो ठूलो जोखिम हुनसक्छ । अतः प्रकोप पूर्व तयारीको विषयमा अहिलेदेखि नै सरकारको ध्यान जाओस् । मुलुकमा नयाँ सरकार बनेको छ । नयाँ सरकारले प्रकोपबाट प्रभावित हुने पीडितको राहत, उद्धार र व्यवस्थापनको विषयमा सोचोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?