Butwal Today

रुपन्देहीमा क्विक रेस्पोन्स टिम तयार

९ असार २०८३, मंगलवार
अ+
अ-

भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीका कामलाई तीव्रता दिएको जनाएको छ ।

बाढी, डुबान, चट्याङ, हावाहुरी तथा अन्य प्राकृतिक विपत्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिमार्फत आवश्यक तयारी पूरा गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनाए ।

सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षा, विपत् व्यवस्थापन, सेवा प्रवाह तथा प्रशासनिक सुधारका विषयमा जानकारी गराउँदै प्रशासनले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले मनसुन सुरु भएसँगै विपद्को जोखिम बढ्ने भएकाले पूर्व तयारीलाई विशेष महत्त्व दिइएको बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

“विपद् आएपछि मात्रै क्षतिको मूल्याङ्कन गरेर राहत र उद्धारमा केन्द्रित हुने पुरानो अभ्यासलाई परिवर्तन गर्न आवश्यक छ,” उनले भने, “हामीले विपत् आउनुअघि नै नागरिकलाई सचेत गराउने, जोखिम क्षेत्रको पहिचान गर्ने तथा सम्भावित क्षति न्यूनीकरणका उपायबारे व्यापक छलफल र तयारी गरेका छौँ ।”

उनले विपत् व्यवस्थापनका लागि सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । जिल्लाभरका संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको समेत उनले बताए ।

 उद्धार तथा राहतका लागि तयारी अवस्थामा 
प्रजिअ अर्यालका अनुसार विपत् आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा अन्य सरोकारवाला निकायका जनशक्ति आवश्यक उपकरणसहित तयारी अवस्थामा रहेको उनले बताए ।

“घटना घटेपछि जनशक्ति खोज्दै हिँड्ने अवस्था नआओस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “कुनै पनि विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुने गरी जनशक्ति, स्रोत र साधनको व्यवस्थापन गरिएको छ ।”

गृह मन्त्रालयबाट प्राप्त बजेटको उपयोग गरी आवश्यक पूर्वाधार व्यवस्थापन भइरहेको र यसै महिनाभित्र प्रणाली सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले विपद्को समयमा सूचना प्रवाहलाई पनि प्रभावकारी बनाइने बताउँदै नागरिकलाई आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरे ।

सेवा प्रवाह सुधार्न ‘एक द्वार प्रणाली’
पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री बनाउन ‘एक द्वार प्रणाली’ लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

हाल जिल्ला प्रशासन कार्यालयको भौतिक संरचना विभिन्न स्थानमा फैलिएको कारण सेवाग्राहीले एउटै कामका लागि विभिन्न कक्ष तथा भवन धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यसलाई अन्त्य गर्न एक द्वार प्रणाली लागू गर्न लागिएको बताए ।

“कुनै पनि नागरिक सेवा लिन आउँदा उसले कहाँ जाने, कसलाई भेट्ने भन्ने अन्योलमा पर्नु हुँदैन,” उनले भने, “सेवाग्राहीले एउटै काउन्टरबाट आवश्यक जानकारी प्राप्त गर्न र सेवा लिन सक्ने व्यवस्था मिलाउने गरी काम भइरहेको छ ।”

प्रशासनका अनुसार नयाँ व्यवस्थाले नागरिकको समय बचत हुनुका साथै अनावश्यक झन्झट र दौडधुप पनि कम हुनेछ । यसबाट सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व समेत बढ्ने अपेक्षा गरिएको छ ।

‘शून्य फाइल’ अभियान सञ्चालन
पत्रकार सम्मेलनमा प्रशासनले कार्यसम्पादनलाई चुस्त बनाउन ‘शून्य फाइल अभियान’ सञ्चालन गरेको जानकारी प्रजिअ अर्यालले दिए । अभियानअन्तर्गत कार्यालयमा प्राप्त भएका फाइलहरू सकेसम्म सोही दिन फर्स्यौट गर्ने र अनावश्यक रूपमा निर्णय प्रक्रिया लम्बिन नदिने नीति अपनाइएको छ ।

जिअ अर्यालले ढिलासुस्ती तथा फाइल थन्क्याउने प्रवृत्ति नियन्त्रण गर्न अभियान प्रभावकारी बन्दै गएको बताए । उनका अनुसार विभिन्न कार्यालयका प्रमुखहरूलाई पनि कार्यसम्पादनमा तदारुकता देखाउन निर्देशन दिइएको छ ।

कर्मचारीको व्यवहार सुधारमा जोड
प्रजिअ अर्यालले सेवा प्रवाहको गुणस्तर केवल प्रक्रियाले मात्र नभई कर्मचारीको व्यवहारले पनि निर्धारण गर्ने बताउँदै कर्मचारीको आचरण र सेवामुखी सोचमा सुधार ल्याउन विशेष ध्यान दिइएको जानकारी दिए ।

नियमित रूपमा कार्यालय प्रमुखहरूको बैठक आयोजना गरी नागरिकका गुनासो, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका उपायबारे छलफल भइरहेको उनले बताए ।

“सेवाग्राही कार्यालयमा सेवा लिन आउँछन्, समस्या लिएर आउँछन्,” उनले भने, “त्यसैले कर्मचारीले उनीहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्छ र गुनासो सुन्ने संस्कार विकास गर्नुपर्छ ।”

पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले नागरिकको अपेक्षा दिनप्रतिदिन बढ्दै गएको र त्यसअनुसार सरकारी निकायमाथि कामको चाप पनि बढेको स्वीकार गरे । तथापि सीमित स्रोतसाधनका बाबजुद सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास जारी रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकारहरूले विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, प्रशासनिक सुधार तथा नागरिक गुनासोसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए भने प्रशासनले ती विषयमा आफ्नो धारणा र आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?