© 2026
पाल्पा । रासायनिक मलको अभाव, बढ्दो लागत र माटोको उर्वराशक्ति घट्दै जान थालेपछि पाल्पाका कृषकहरू हरियो मलतर्फ आकर्षित हुन थालेका छन् ।
विशेष गरी धैचा (हरियो मल) को प्रयोगले माटोको गुणस्तर सुधार गर्नुका साथै उत्पादनसमेत बढाउन सहयोग पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा यसको प्रयोग विस्तार हुँदै गएको छ ।
वगनासकाली गाउँपालिका –पोखराथोकका कृषक थमन रानाले खेतमा धैचा प्रयोग गर्न थालेको एक दशक पूरा भएको छ । खेती गर्ने समयमा रासायनिक मलको अभाव झेल्नुपर्ने, महँगो मूल्यमा मल खरिद गर्नुपर्ने र निरन्तर रासायनिक मल प्रयोग गर्दा माटोमा अम्लीयपन बढ्दै उत्पादन घट्न थालेपछि उनले हरियो मल प्रयोगलाई प्राथमिकता दिएका हुन् ।
“पहिले रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्छ भन्ने विश्वास थियो। तर वर्षौँसम्म युरिया र अन्य रासायनिक मलको प्रयोग गर्दा माटोको उर्वराशक्ति कमजोर हुँदै गयो,” रानाले भने, “धैचा प्रयोग गर्न थालेपछि माटोको अवस्था सुधारियो, उत्पादन पनि बढ्न थाल्यो । अहिले खेतीपातीमा हरियो मल नै मुख्य आधार बनेको छ ।”
उनका अनुसार धैचा खेती गर्न धेरै खर्च लाग्दैन । धैचालाई खेतमा हुर्काएर फूल लाग्नुअघि जोतेर माटोमा मिलाइन्छ, जसले प्राकृतिक रूपमा माटोमा आवश्यक पोषक तत्त्व उपलब्ध गराउँछ । पूर्व खोला गाउँपालिका–हुमिनका कृषक बुद्धिबहादुर कार्कीका अनुसार कृषिमा आधुनिकीकरणसँगै रासायनिक मलको प्रयोग बढेपछि परम्परागत हरियो मल प्रयोग गर्ने चलन हराउँदै गएको थियो ।
तर पछिल्ला वर्षमा माटो परीक्षण गर्दा अत्यधिक रासायनिक मल प्रयोगका कारण माटोको गुणस्तरमा नकारात्मक असर परेको तथ्य देखिएपछि कृषकहरू पुनः हरियो मलतर्फ फर्किन थालेका छन् ।
“पहिले युरिया मलको प्रयोग नहुँदा धैचा लगायतका हरियो मल प्रयोग गरिन्थ्यो,” कार्कीले भने, “रासायनिक मलले तत्काल उत्पादन बढाए पनि दीर्घकालमा माटोको स्वास्थ्य बिगार्ने रहेछ भन्ने अनुभव किसानहरूले गर्न थालेका छन् । त्यसैले अहिले धेरै किसान फेरि पुरानै विधितर्फ फर्किएका छन् ।” माथागढी गाउँपालिका–रुप्सेका कृषक धनबहादुर विकले भने अहिलेसम्म खेतमा रासायनिक मल प्रयोग नगरेको बताउँछन् ।
उनका अनुसार रासायनिक मल प्रयोग नगर्दा पनि उत्पादनमा खासै कमी आएको छैन । “कुन बालीमा कति मात्रामा मल प्रयोग गर्ने भन्ने ज्ञान धेरै किसानमा छैन,” उनले भने, “मनलाग्दी रूपमा मल प्रयोग गर्दा माटोको उर्वराशक्ति घटिरहेको छ ।
त्यसैले मैले रासायनिक मलभन्दा हरियो मल र जैविक खेतीलाई प्राथमिकता दिएको छु ।” स्थानीय कृषक बालकुमारी कुमालका अनुसार खेती लगाउने समयमा रासायनिक मलको चरम अभाव हुने, मलका लागि लाइन बस्नुपर्ने र कहिलेकाहीँ चाहिएको समयमा मल नै नपाइने समस्या छ । यस्ता कारणले पनि किसानहरू धैचातर्फ आकर्षित भएका हुन् ।
“धैचा उत्पादन गर्न धेरै खर्च लाग्दैन । यसको बीउ आफैँ उत्पादन गर्न सकिन्छ। कम लागतमा माटोलाई आवश्यक पोषण दिने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेका छन्,” उनले भनिन् ।
कृषि विज्ञहरू पनि हरियो मलको प्रयोगले माटोको दीर्घकालीन स्वास्थ्य सुधार हुने बताउँछन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोषकुमार चौधरीका अनुसार धैचा दलहन वर्गको अत्यन्त उपयोगी हरियो मल हो ।
“धैचाले वायुमण्डलमा रहेको नाइट्रोजनलाई माटोमा स्थिर गर्न मद्दत गर्छ,” चौधरीले भने, “यसले बालीलाई आवश्यक पर्ने फस्फोरस, पोटासियम, म्याग्नेसियम लगायतका सूक्ष्म पोषक तत्वको उपलब्धता बढाउँछ । साथै माटोको बनावट सुधार्ने, खुकुलोपन कायम राख्ने र अम्लीयपन कम गर्ने काम पनि गर्छ ।”
उनका अनुसार धैचा प्रयोगले माटोमा जैविक विविधता कायम राख्न, सूक्ष्म जीवाणुको सक्रियता बढाउन तथा रासायनिक मलमाथिको निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
पाल्पाका प्रमुख कृषि क्षेत्रमध्ये माडी फाँटमा हरियो मलको प्रयोग उल्लेख्य रूपमा बढेको छ । यहाँ दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धैचा खेती हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् । पछिल्ला वर्षहरूमा रासायनिक मलको बढ्दो अभाव र माटोको गुणस्तर संरक्षणप्रतिको सचेतनासँगै धैचा खेती विस्तार हुँदै गएको छ ।
कृषि विज्ञहरूका अनुसार दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति जोगाउन, उत्पादन लागत घटाउन र दिगो कृषि प्रणाली विकास गर्न हरियो मलको प्रयोग प्रभावकारी विकल्प बन्न सक्छ । त्यसैले किसानहरूलाई धैचा लगायतका हरियो मलको प्रयोगबारे थप प्रोत्साहन र प्राविधिक सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।