Butwal Today

उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि एमालेको प्रतिक्रिया: सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो

८ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ – उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढङ्गले पक्राउ गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ।

एमाले अध्यक्ष केपी ओलीले प्रेस वक्तव्य जारी गर्दै पार्टीको साङ्गठनिक कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले अपहरणको शैलीमा गिरफ्तार गरेको आरोप लगाएका छन्।

पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

एमालेले यस कदमको घोर निन्दा र भर्त्सना गर्दै वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति राजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोध साध्न खोजेको ठहर गरेको छ।

ओलीले पौडेलको पक्राउलाई एमालेमाथि लगातार भइरहेको शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रकै निरन्तरता भएको टिप्पणी गरेका छन्।

पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो। जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उपस्थित गराएर प्रक्रिया अगाडि बढाउन सकिने विकल्प हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाएर नियतवश पक्राउ गरिएको एमालेको भनाइ छ।

सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको भन्दै एमालेले सत्ताको उन्मादमा गरिएको यस्तो अधिनायकवादी कदमको डटेर सामना गर्ने स्पष्ट पारेको छ।

​वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै अध्यक्ष ओलीले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन्।

एमालेले सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न आह्वान समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?