© 2026
बुटवल ।
घरमा विद्युत् मिटर जडान गर्न ढिलाइ भएको विषयमा उत्पन्न विवादले उग्र रूप लिँदा नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इन्जिनियर मनोज अर्यालमाथि कार्यकक्षमै बाँसको घारो प्रहार भएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पत्रकार भरत पाण्डे १० हजार रुपियाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका बस्दै आएका पाण्डेले भदौ २२ गते दिउँसो करिब १२ः२० बजे वितरण केन्द्र प्रमुख अर्याललाई उनकै कार्यकक्षमा काम गरिरहेको अवस्थामा बाँसको घारोले प्रहार गरेका थिए ।
मिटर जडानमा भएको ढिलाइको विषयलाई लिएर पाण्डे र कार्यालय प्रमुख अर्यालबिच भनाभन भएको थियो । भनाभनकै क्रममा विवाद बढेपछि पाण्डेले कार्यालय प्रमुखमाथि बाँसको घारोले प्रहार गरेको प्रहरीको भनाइ छ ।
घटनापछि कार्यालय प्रमुखमाथि गालीगलौज तथा अभद्र व्यवहारसमेत भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो । जाहेरी प्राप्त भएपछि प्रहरीले सोही दिन पाण्डेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीबाट आठ दिनको म्याद थप गराएको थियो ।
प्रहरीले निर्धारित समयभन्दा अगावै अनुसन्धान पूरा गरी पाँच दिनभित्रै घटनासम्बन्धी प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गरेको जनाएको छ । अनुसन्धानबाट प्राप्त विवरणका आधारमा प्रशासनले पाण्डेलाई भदौ २६ गते १० हजार रुपियाँ धरौटीमा तारेखमा छाडेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
प्रनाउ विश्वकर्माका अनुसार मिटर जडानमा ढिलाइ भएको विषयलाई लिएर पाण्डे र कार्यालय प्रमुखबीच विवाद भएको र त्यसक्रममा कार्यालय प्रमुखमाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विद्युत् मिटर जडान सामान्य प्रशासनिक प्रक्रियाको विषय भए पनि त्यसैलाई लिएर कार्यालय परिसरमै विवाद बढेर कर्मचारीमाथि भौतिक आक्रमणको अवस्था आउनुले कार्यालयमा सेवाग्राही र कर्मचारीबिचको व्यवहार तथा विवाद व्यवस्थापनको विषयसमेत उठेको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने क्रममा विवाद उत्पन्न भए त्यसलाई कानुनी तथा प्रशासनिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा व्यक्तिगत रूपमा विवाद बढ्दा घटना भएको देखिएको छ ।
यसैबीच, घटनाबारे समाचार सार्वजनिक नगर्न विभिन्न पक्षबाट दबाब आएको बताइएको छ । घटनापछि पत्रकार पाण्डेको संलग्नताबारे समेत विभिन्न चर्चा चलेको छ । स्रोतका अनुसार पाण्डेमाथि यसअघि पनि स्थानीय राजनीतिज्ञ तथा केही पत्रकारसँग अभद्र व्यवहार गरेको आरोप लाग्दै आएको थियो । यद्यपि ती आरोपबारे छुट्टै अनुसन्धान वा कानुनी कारबाही भएको पुष्टि भएको छैन ।
विद्युत् मिटर जडानमा ढिलाइ भएको गुनासो भए सम्बन्धित कार्यालयमा निवेदन, गुनासो तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्न सकिने भए पनि विवाद बढेर कर्मचारीमाथि भौतिक आक्रमणसम्म पुग्नु गम्भीर विषय भएको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान पूरा गरी प्रतिवेदन प्रशासनमा बुझाइसकेको जनाएको छ ।