© 2026
बाँके ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारी लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्सारीले लागु औषध कारोबार गर्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा अन्सारी सुत्ने कोठाको दराजमा लुकाइ छिपाइ राखेको अवस्थामा शुद्ध तौल ४० ग्राम ७६० मिलिग्राम लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अन्सारीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट नेपाली रुपैयाँ ११ हजार, भारतीय रुपैयाँ १ लाख ४६ हजार, विभिन्न कम्पनीका क्विक मोबाइल थान ३, एनटीसीको सिम कार्ड ३, एनसेलको सिम कार्ड १, एनसेलका सिम कार्डका खोल ५०, डिजिटल तराजु १ तथा भे ३ प ५३५२ नम्बरको पल्सर १५० मोटरसाइकलको सवारी र दर्ता किताब १ समेत बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
