Butwal Today

सिड्नीमा कारको ठक्करबाट बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

समाचार संस्था द अस्ट्रेलिया टुडेका अनुसार अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको हो ।

अधिकारीले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेका छैनन् । घटनाको २४ घण्टाभन्दा कम समयपछि बुधबार उनी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए ।

अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा अधिकारीसँग केही समर्थक पनि देखिएका थिए । रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए ।

अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन् । ‘उनी निकै तनावमा छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्,’ इडले सञ्चारकर्मीसँग भने ।

मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडमा ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको खबरपछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए ।

गम्भीर अवस्थामा रहेकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो । तर, केही घण्टापछि उनको मृत्यु भएको थियो ।

घटनामा अधिकारीलाई कुनै चोटपटक लागेको थिएन । अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अर्बन प्रहरी स्टेसन लगेर प्रहरीले मुद्दा चलाएको थियो ।

अधिकारी अहिले जमानतमा छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप पुष्टि भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?