Butwal Today

सुशासन र समृद्धिको योजनामा हामी सँगै छौँ: नेता पुन

७ असार २०८३, आइतबार
अ+
अ-
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एक ठाउँमा रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समारोहलाई आज चितवनमा सम्बोधन गदै उनले रास्वपा र नेपाली कम्युनिस्ट पार्टीबिच पृष्ठभूमि र काम गर्ने शैली फरक भए पनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको बताए ।
नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेस गरे । थिति बसाउने राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डामा आफूहरूको साथ रहने उल्लेख गर्दै उनले भने, “हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ । अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबिच धेरै विषयमा सहकार्य भएको छ ।”
उनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए । नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुने तर्क गरे ।
नेता पुनले राजनीतिमा सङ्ख्या प्राप्त गर्दा विनम्रता देखाउनुपर्ने धारणा राख्नुभयो । नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह भरेको उनको कथन थियो ।
मुलुकले रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय गर्ला भनेर नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले महाधिवेशनको सफलताको कामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?