© 2026
भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा तथा लुम्बिनी विकास कोष को सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरूले प्रशिक्षकको निर्देशनमा विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए । विश्वभर मनाइने अन्तर्राष्ट्रिय योग दिवसको सन्देशलाई जनस्तरसम्म पु¥याउने तथा स्वस्थ जीवनशैलीप्रति जागरण ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले सहरी जीवनशैली र व्यस्त दिनचर्या भएका व्यक्तिहरूका लागि योग अत्यन्त प्रभावकारी माध्यम भएको बताए । उनले सरकारी कर्मचारी, उद्योगी–व्यवसायी तथा दिनभर कार्यालयमा बसेर काम गर्ने व्यक्तिहरूले नियमित रूपमा योग वा हिँडडुल गर्नुपर्ने आवश्यकता औँल्याए ।
“सहरी जीवन जिउने, जागिर खाने, उद्योग–व्यवसाय चलाउनेहरूका लागि योग उत्तम अभ्यास हो,” उनले भने । ग्रामीण क्षेत्रमा घाँस–दाउरा गर्ने, खेतबारीमा काम गर्ने, भिर पाखा चढ्ने तथा अन्य श्रम प्रधान कार्यमा संलग्न नागरिकहरूको दैनिक जीवन नै कडा व्यायामसरह हुने भएकाले उनीहरूको जीवनशैली स्वाभाविक रूपमा सक्रिय रहने उनको भनाइ थियो ।
प्रदेश प्रमुख घर्ती मगरले योगका सबै विधि र नियम जान्नै पर्छ भन्ने बाध्यता नरहेको उल्लेख गर्दै शरीरलाई नियमित रूपमा चलायमान बनाउनु नै स्वास्थ्यका लागि लाभदायक हुने बताए । स्वस्थ शरीर नै जीवनको सबैभन्दा ठुलो सम्पत्ति भएको उल्लेख गर्दै उनले योग, व्यायाम, खेलकुद तथा हिँडडुललाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरे ।
बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित उक्त योगाभ्यास कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले योगलाई केवल व्यायामको रूपमा नभई समग्र जीवनशैली सुधार गर्ने माध्यमका रूपमा स्थापित गर्न सहयोग पुगेको विश्वास व्यक्त गरिएको छ ।
कपिलवस्तु चन्र्दौटाकी योग साधक अनिता शर्माले योग केवल शारीरिक व्यायाम मात्र नभई शरीर, मन र परमात्माबिचको सम्बन्ध जोड्ने माध्यम भएको बताइन । “योगले हाम्रो चेतनालाई सकारात्मक दिशातर्फ डो¥याउँछ। यसले शरीरलाई स्वस्थ बनाउनुका साथै मानिसलाई सकारात्मक सोचतर्फ प्रेरित गर्छ,” उनले भनिन ।
त्यस्तै योग साधक विष्णु बस्नेतले योगलाई ऋषिमुनिहरुले मानव समाजलाई दिएको अमूल्य उपहारका रूपमा व्याख्या गरे । “योगले शरीरलाई मात्र स्वस्थ बनाउँदैन, मनलाई पनि स्वस्थ राख्छ । यसले मानिसलाई आनन्द, शान्ति र आरामको अनुभूति गराउँछ,” उनले भने ।
योग साधक रेनुका सुवेदीले आफू नियमित रूपमा योग गर्ने गरेको बताउँदै योगले मानिसलाई निरोगी र अनुशासित जीवनतर्फ उन्मुख गराउने धारणा राखिन । “योग हाम्रो शरीरका लागि अत्यन्त महत्त्वपूर्ण छ । योगले मन, शरीर र आत्मा सबैलाई स्वस्थ बनाउँछ । त्यसैले सबैले नियमित योग गर्नुपर्छ,” उनले भनिन् ।
कार्यक्रममा योग प्रशिक्षण दिँदै प्रशिक्षक ललिता चौधरीले आधुनिक र भागदौडपूर्ण जीवनशैलीका कारण मानिसहरूले आफ्नो स्वास्थ्यप्रति पर्याप्त ध्यान दिन नसकेको बताइन । यस्तो अवस्थामा शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन योग अपरिहार्य रहेको उनको भनाइ थियो ।
“आजको व्यस्त जीवनमा मानिसहरू तनाव, चिन्ता र विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भइरहेका छन्,” उनले भनिन, “दैनिक रूपमा केही समय योगका लागि छुट्टाउन सके शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।”
योगले मानिसलाई स्वस्थ जीवन जिउने कला सिकाउने उल्लेख गर्दै चौधरीले योगाभ्यासका क्रममा श्वास–प्रश्वासको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने बताइन । नियमित योगाभ्यासले शरीरको सन्तुलन कायम राख्नुका साथै मानसिक एकाग्रता, आत्मविश्वास र सकारात्मक सोचको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन ।
लुम्बिनीस्थित लिटिल बुद्ध प्रतिमाअगाडि आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र योगप्रेमीहरु गरि पाँच सयभन्दा बढी योग साधकहरूको सहभागिता रहेको थियो ।