© 2026
चन्द्रौटा ।
चाडपर्वमा यात्रुको चाप बढेसँगै कपिलवस्तुमा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । घटस्थापनादेखि कार्तिक १ गतेसम्म क्षमताभन्दा बढी यात्रु बोक्ने ४९ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा ६८ वटा अतिरिक्त सिट हटाइएको छ भने मादक पदार्थ सेवन गरी सवारी चलाउने ४४ जना चालक कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए । उनका अनुसार लामो दूरीका सवारीमा २ वटा चालक नराखी सञ्चालन गरिएका दुई सवारी साधनलाई समेत कारबाही गरिएको छ ।
यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग, बसपार्क तथा यात्रुको चाप बढी हुने क्षेत्रमा चेकजाँच तीव्र पारिएको प्रहरी सहायक निरीक्षक सर्जन थारुले बताए । मापसे गरी सवारी चलाउँदा चालकको नियन्त्रण क्षमता कमजोर हुने र दुर्घटनाको सम्भावना उच्च हुने भएकाले ट्राफिक प्रहरीले मापसे जाँचलाई समेत प्राथमिकतामा राखेको छ ।