© 2026
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो तथा एकता महाधिवेशनमा पदाधिकारीसहितका मुख्य पदहरूमा चुनाव नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी गरेको छ। पार्टीभित्र एकताको सन्देश दिन नेतृत्व चयन सहमतिका आधारमा गर्ने निष्कर्ष सचिवालय बैठकले निकालेको हो।
बिहीबार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार १०० जना निर्वाचित र ५१ जना मनोनीत हुनेछन्। उपसभापति तीन जना रहनेछन्, जसमा एक महिला अनिवार्य हुनेछिन् भने एक जना मनोनीत गरिनेछ। त्यस्तै दुई महामन्त्रीमध्ये एक जना मनोनीत हुने व्यवस्था गरिएको छ।
पार्टीले सहमहामन्त्री पाँच जना, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ताको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। सचिवालय बैठकमा सभापति, वरिष्ठ नेता, उपसभापति र महामन्त्रीलगायत प्रमुख पदमा सकभर चुनाव नगरी सहमतिमै नेतृत्व चयन गर्ने समझदारी बनेको नेताहरूले बताएका छन्।
स्रोतका अनुसार सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह रहने लगभग निश्चित भएको छ। उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले तथा महामन्त्रीमा भूपदेव शाहको नाम चर्चामा छ। पार्टीले एकता प्रक्रियामा सहभागी विभिन्न समूह र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी पदाधिकारी चयन गर्ने तयारी गरेको जनाएको छ।
यसैबीच, असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्रलाई सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्। उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिने र त्यसलगत्तै नेतृत्व चयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ। ८ गतेदेखि निर्वाचन कार्यतालिका लागू हुने महामन्त्री भूपदेव शाहले जानकारी दिएका छन्।