© 2026
बुटवल । रुपन्देहीमा जेठ महिनाभर १८२ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएका छन् ।
प्रहरीले सोही अवधिमा विभिन्न मुद्दाका २४३ प्रतिवादी पक्राउ गरेको जनाएको छ । फरार रहेका ४६ प्रतिवादीलाई पक्राउ गरी ५२ लाख ६६ हजार ४१२ रुपियाँ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन कैद कार्यान्वयन गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
महिला तथा ज्येष्ठ नागरिक शाखामा घरेलु हिंसाका ९३ र छिमेकीबिचको झगडासम्बन्धी ७२ उजुरी दर्ता भएका छन् । घरेलु हिंसामध्ये ८३ वटा मिलापत्र गराइएको छ भने १० वटा उजुरी प्रक्रियामा रहेका छन् ।
जेठ महिनामा १२ वटा लागु औषध मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न प्रकारका लागु औषधसहित गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको जनाएको छ ।
त्यसै गरी, जिल्लामा १४ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्या गर्नेमा आठ जना पुरुष र ६ महिला रहेका छन् । अधिकांश घटनामा झुन्डिएर आत्महत्या गरिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
सवारी दुर्घटनातर्फ जेठ महिनामा १५८ दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । ट्राफिक चेकजाँचका क्रममा तीन हजार ५६६ सवारी साधनलाई कारबाही गरी ५६ लाख तीन हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।
भन्सार छली नियन्त्रण अभियानमा दुई करोड ४३ लाख ४० हजार १६६ रुपियाँ बराबरको राजस्व चुहावट नियन्त्रण गरिएको छ । यस क्रममा २२ जना पक्राउ परेका छन् भने ४० वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जेठ महिनामा नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर तथा अन्य सामग्री बरामद गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर १०४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा तीन हजार ६१४ जना सहभागी भएका थिए । विद्यालय केन्द्रित ४९ कार्यक्रममार्फत तीन हजार नौ जना विद्यार्थीलाई विभिन्न विषयमा सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक चन्दले भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ भने यस प्रकरणमा संलग्न पाँच जनाविरुद्ध मानव बेचबिखन तथा ठगीसम्बन्धी मुद्दा चलाइएको बताए ।
यसैबिच, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एक महिनाको अवधिमा घरेलु हिंसाका २१ वटा घटना सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जेठ महिनामा प्राप्त उजुरीका आधारमा बुटवल जिल्लामै घरेलु हिंसाका सबैभन्दा बढी घटना भएको स्थानीय तह बनेको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवलपछि सिद्धार्थनगर नगरपालिकामा १७, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ११ र तिलोत्तमा नगरपालिकामा १० वटा घरेलु तथा पारिवारिक विवादसम्बन्धी उजुरी दर्ता भएका छन् । त्यस्तै मायादेवी गाउँपालिकामा आठ वटा घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार मर्चवारी गाउँपालिकामा दुई, सम्मरीमाईमा तीन, रोहिणीमा दुई, ओमसतियामा चार, सियारीमा दुई, सैनामैना नगरपालिकामा एक, शुद्धोधनमा चार, कोटहीमाईमा दुई, देवदहमा तीन, गैडहवामा एक र कञ्चन गाउँपालिकामा दुई वटा यस्ता घटना दर्ता भएका छन् ।
जेठ महिनाभर जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइमा प्राप्त ९३ वटा उजुरीको विश्लेषण गर्दा मादक पदार्थ सेवनपछि हुने गालीगलौजका घटना सबैभन्दा बढी देखिएका छन् । यस्ता ३७ वटा उजुरी प्रहरीमा परेका छन् । त्यसपछि घरायसी झैझगडाका ३१, कुटपिट तथा घाउजाँचसम्बन्धी २४ र घरमा खानबस्न नदिएको एवटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार प्राप्त ९३ उजुरीमध्ये ८३ वटाको फछ्र्योट भइसकेको छ । केही घटनामा मिलापत्र गराइएको छ भने केही मुद्दा अदालतमा पेश गरिएको उनले जानकारी दिए ।