© 2026
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत गराएका हुन ।
आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका छन्। विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।
सो पार्टीका सांसद हर्कराज राईले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गरेका थिए । सांसद राईले मन्त्रीले जवाफ दिइसकेपछि पुनः स्पष्टीकरण सोध्न खोजेका थिए । सभामुख अर्यालले स्पष्टीकरणमाथि स्पष्टिकरण नहुने बताए ।
सभामुख अर्यालले भने, “श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको आदेशको पालना गर्नुपर्ने सबै सांसदहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सांसदलाई सचेत गराउँछु ।”
सभामुखले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्नुभए पनि सो दल सम्बद्ध सांसदहरूले बेलमा पुगेर विरोध गरेका छन् । सभामुख अर्यालले विधि नियम र नियमावलीअनुसार नै संसद्को कारबाही अगाडि बढेको भन्दै आसनमा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।