Butwal Today

रास्वपा महाधिवेशनमा आउने  पाहुनाको सम्मानमा छुट

३ असार २०८३, बुधबार
अ+
अ-

चितवन ।  यहाँस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् ।

सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।

आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम  महाधिवेशन हुनगइरहेको छ । सो महाधिवेशन आउने अतिथिहरूका सम्मानमा कुनै पनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् ।

होटल व्यवसायी सङ्घ चितवनका  अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि    आवासमा २५ प्रतिशत,  खाना र पेय पदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई  छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए नपाएको  अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको छ,  क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।

क्षेत्रीय होटल सङ्घमा ९०  होटल रहेका छन् । ती होटलको क्षमता १० हजार जना अट्ने क्षमता रहेको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताए ।  महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?