© 2026
नेपालको चुरे क्षेत्र कमजोर पहाडको श्रृंखलामात्रै होइन प्रकृतिको सौन्दर्य पनि हो । चुरेले तराई र पहाडबिचको प्राकृतिक सम्पदालाई जोडेको छ । चुरे क्षेत्र जैविक विविधता, वन्यजन्तु र वनस्पति संरक्षणका लागि महत्त्वपूर्ण छ । तर, आज यही क्षेत्र विनासको मुखमा छ ।
चुरे नेपालका नदीनालाको उद्गम स्थल पनि हो, जसले लाखौँ जनतालाई प्रत्यक्ष रूपमा जीवन निर्वाहको माध्यम बनाएको छ । चुरे क्षेत्रको संरक्षणमा सरकारकै तर्फबाट बेवास्ता हुँदा प्राकृतिक सम्पदा, जलस्रोत र वातावरणमा गम्भीर असर परेको छ ।
चुरे संरक्षणको चिन्ताबिच मंगलबार चुरे संरक्षण दिवस मनाइएको छ । विक्रमसम्मत २०७१ साल असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति स्थापना भएको सम्झनामा चुरे संरक्षण दिवस मनाउने गरिन्छ । दिवस मनाउने गरिएपनि चुरे विनासको क्रम रोकिएको छैन् ।
नेपालका ३६ जिल्लामा फैलिएको चुरे क्षेत्र विनासको चपेटामा परेको छ । दुई बर्षअघि चुरे अतिक्रमण र दोहनले खानेपानीको स्रोत सुकेकाले चुरे संरक्षणको माग गर्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानले पैदलयात्रा गरेको थियो तर त्यो अभियान त्यत्तिकै सेलाएको छ ।
अभियानले चुरे र त्यहाँ रहेका वन जोगाउनुपर्ने माग गरेको थियो । चार करोड वर्ष पहिले हिमालय उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । चुरे नेपालको कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रमा पर्दछ ।
चुरे संरक्षण गर्ने बेला आईसकेको छ तर सरकारले नागरिकको आग्रहप्रति बेवास्ता गरिरहेको छ । चुरे संरक्षणमा बेवास्ता गरियो भने चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली थप कमजोर बन्न गई तराईको जनजीवन अझै संकटग्रस्त बन्न सक्ने भन्दै वातावरणवीदहरूले चिन्ता प्रकट गरेका छन् । चुरे दोहनको श्रृंखला नियन्त्रण गर्न नसक्दा चुरे संरक्षणको औचित्य पुष्टी हुन सकेको छैन् ।
चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकोले तराई–मधेशमा थुप्रै वातावरणीय समस्याहरू देखापर्दै गएको अवस्था छ । चुरे बिनासका कारण पानीको स्रोतहरू समेत सुक्दै गएका छन् । प्रायः बर्सेनी बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो–माटो थुपार्ने तथा गाउँवस्तीहरू समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् ।
चुरेको संरक्षणले मात्र तराई क्षेत्रको जलवायु सन्तुलन राख्न मद्दत गर्छ । भूक्षय, बाढी, र डुबान जस्ता समस्याबाट पनि बचाउन मद्दत गर्छ । तर, पछिल्लो केही दशकमा चुरे क्षेत्रमा भएका मानव गतिविधि, जस्तै, वन विनास, अव्यवस्थित उत्खनन र अन्य विकास निर्माण कार्यले चुरेको पर्यावरणीय सन्तुलनमा गम्भीर असर पु¥याएको छ । चुरेको संरक्षणमा प्रमुख चुनौती भनेकै अव्यवस्थित उत्खनन हो ।
अवैध रूपमा बालुवा, गिटी र ढुङ्गा उत्खनन गरिँदा चुरे क्षेत्र खल्बलिएको छ । चुरे क्षेत्रको संरक्षणमा जलवायु परिवर्तनको समस्या झन् जटिल बनेको छ । चुरेको विनासले गर्दा स्थानीय जलवायु प्रणालीमा प्रभाव परेको छ । बाढी, डुबान र सुक्खा जस्ता समस्या अझ बढी देखिन थालेका छन् । चुरे संरक्षणमा स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ ।
तर, सरकारले यसका लागि स्थानीय समुदायलाई परिचालित गर्न सकेको छैन् । स्थानीय सरकारमा योजना र नीति कार्यान्वयन गर्ने क्षमताको अभाव छ । आवश्यक स्रोतसाधन र अनुगमन संयन्त्रको अभावका कारण चुरे संरक्षणमा प्रभावकारी काम गर्न सकिएको अवस्था छैन । पछिल्लोसमय जलवायु परिवर्तनले चुरे क्षेत्रको संरक्षणमा थप चुनौती खडा गरेको छ । अतः दिवसकै अवसरमा चुरे संरक्षणमा ऐक्यबद्धता प्रकट गर्ने बेला आएको छ ।