Butwal Today

फोहोर सङ्कटबाट मुक्ति खोज्दै सिद्धार्थनगर

३ असार २०८३, बुधबार
अ+
अ-

बुटवल । लामो समयदेखि फोहोर व्यवस्थापनको समस्यासँग जुध्दै आएको सिद्धार्थनगर नगरपालिकाले दिगो र वैज्ञानिक समाधानको खोजी थालेको छ ।

नगरका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेपछि बढ्दो जनगुनासो र आलोचनाबिच नगरपालिकाले निजी क्षेत्र, सरकारी निकाय तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर आधुनिक फोहोर व्यवस्थापन प्रणाली विकास गर्ने तयारी गरेको हो ।

यसै उद्देश्यका साथ नगरपालिकाले १५ दिनभित्र मनसाय प्रस्ताव (इओआई) पेस गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाले फोहोर सङ्कलन, वर्गीकरण, प्रशोधन, पुनः प्रयोग, रिसाइकल तथा अन्तिम व्यवस्थापनसम्मको समग्र योजना पेस गर्न इच्छुक संस्था तथा कम्पनीलाई आग्रह गरेको छ ।

नगरपालिकाका अनुसार फोहोर व्यवस्थापनलाई केवल सङ्कलन र विसर्जनमा सीमित नराखी उत्पादन स्थलमै फोहोरको वर्गीकरण गर्ने, पुनः प्रयोगयोग्य वस्तुको पुनः प्रयोग तथा पुनर्चक्रण (रिसाइकल) गर्ने र न्यून उत्सर्जनको अवधारणालाई कार्यान्वयनमा ल्याउने योजना प्रस्तावमा समेटिएको हुनुपर्नेछ ।

सार्वजनिक सूचनामा प्रस्तावकसँग उपलब्ध जनशक्ति, प्रविधि, उपकरण, वित्तीय स्रोत तथा परियोजना सञ्चालनका लागि आवश्यक पूर्वाधारको विस्तृत विवरण खुलाउनुपर्ने उल्लेख गरिएको छ । नगरपालिकाबाट थप स्रोतसाधन वा सहयोग आवश्यक पर्ने भए त्यसको स्पष्ट विवरण समेत पेस गर्न भनिएको छ ।

फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्था प्रस्तावक आफैँले गर्नुपर्नेछ । साथै आधुनिक प्रविधिको प्रयोगमार्फत फोहोरको मात्रा घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने तथा व्यवस्थापन स्थललाई सुरक्षित र वातावरणमैत्री बनाउने योजना भएका प्रस्तावलाई प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले परियोजनाको आर्थिक तथा प्राविधिक क्षमता, सम्भाव्यता अध्ययन, लगानी–प्रतिफल विश्लेषण, दीर्घकालीन सञ्चालन योजना तथा व्यवस्थापन मोडेललाई मूल्याङ्कनको आधार बनाउने जनाएको छ । फोहोर सङ्कलन सेवाका लागि घरधुरी, पसल, उद्योग, होटल, व्यावसायिक प्रतिष्ठान वा अन्य सेवा उपभोक्ताबाट शुल्क लिनुपर्ने भए त्यसको प्रस्तावित दररेटसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत जनक थापाद्वारा जारी सूचनामा परियोजना सञ्चालन अवधिभर नगरपालिकाले तोकेको सुरक्षण धरौटी राख्न मन्जुर हुनुपर्ने उल्लेख गरिएको छ । प्रस्तावकले संस्था वा कम्पनी दर्ता, नवीकरण तथा कर चुक्ता सम्बन्धी कागजातका साथै फोहोर व्यवस्थापन क्षेत्रमा प्राप्त अनुभवसम्बन्धी प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ ।

सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापन पछिल्लो समय सबैभन्दा जटिल सहरी समस्यामध्ये एक बनेको छ । नगरको जनसङ्ख्या, व्यापारिक गतिविधि र पर्यटकीय चहलपहल बढ्दै जाँदा दैनिक उत्पादन हुने फोहोरको मात्रा पनि वृद्धि भइरहेको छ । तर स्थायी व्यवस्थापन स्थलको अभावका कारण नगरपालिकाले प्रभावकारी व्यवस्थापन गर्न कठिनाइ भोग्दै आएको छ ।

यसअघि वडा नम्बर १ को मेउडिहवा क्षेत्रमा फोहोर विसर्जन गरिँदै आएको थियो । स्थानीयवासीको विरोधपछि नगरपालिकाले वैकल्पिक स्थानको खोजी गर्दै डन्डा नदी किनार क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थालेको थियो । तर सर्वोच्च अदालतले उक्त क्षेत्रमा फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाको व्यवस्थापन प्रणाली थप प्रभावित बनेको हो ।

कानुनी अवरोध र स्थायी डम्पिङ तथा प्रशोधन केन्द्रको अभावका कारण नगरका विभिन्न स्थानमा फोहोर थुप्रिने समस्या बढ्दै गएको छ । यसले सरसफाइ, वातावरणीय प्रदूषण तथा सार्वजनिक स्वास्थ्यमा असर पर्ने चिन्ता बढाएको छ । स्थानीय बासिन्दाले नगरपालिकासँग तत्काल प्रभावकारी समाधानको माग गर्दै आएका छन् ।

नगरपालिकाले अब फोहोरलाई समस्या मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणासहित निजी क्षेत्रको सहकार्य खोजेको छ । फोहोरबाट कम्पोस्ट मल, ऊर्जा उत्पादन, पुनर्चक्रणयोग्य वस्तुको प्रशोधन तथा अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले निजी क्षेत्रको लगानी र प्रविधिलाई उपयोग गर्ने लक्ष्य राखिएको छ ।

नगरपालिकाका अनुसार प्राप्त प्रस्तावहरूमध्ये फोहोर व्यवस्थापनको प्रभावकारिता, वातावरणीय सुरक्षा, सेवाग्राहीमाथि पर्ने आर्थिक भार, प्रस्तावकको जिम्मेवारी तथा नगरपालिकाले प्राप्त गर्ने लाभका आधारमा मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनपछि सबैभन्दा उपयुक्त र प्रभावकारी प्रस्ताव छनोट गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

नगरवासीले लामो समयदेखि भोग्दै आएको फोहोर व्यवस्थापन समस्याको स्थायी समाधान खोज्न नगरपालिकाले थालेको यो पहल सफल भए सिद्धार्थनगरमा आधुनिक, वैज्ञानिक र वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणाली स्थापना हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?