Butwal Today

सेफ सन्तोष साह रिहा

२ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार साहले पछिल्लो ठगी कसुरसँग सम्बन्धित ४ लाख ५० हजार रुपैयाँ पीडितलाई बुझाएपछि सोमबार बेलुका उनलाई रिहा गरिएको हो ।

भट्टराईले भने, “पछिल्लो ठगी मुद्दामा पीडितले दाबी गरेको रकम बुझाएपछि साहलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।”

साहमाथि काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा शकुन्तला अधिकारी थापालाई पर्याप्त मौज्दात नभएको बैंक खाताको चेक दिएको आरोप लागेको थियो । सोही विषयमा थापाले २५ लाख रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले गत वर्ष जेठ महिनामै साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउन आदेश दिएको थियो । साथै अदालतले उनलाई एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय पनि सुनाएको थियो । तर फैसला सुनाइँदा साह अदालतमा उपस्थित भएका थिएनन् ।

पीडित पक्षका अनुसार अदालतको निर्णय कार्यान्वयन नगरी साह लामो समयसम्म सम्पर्कविहीन बनेका थिए । त्यसपछि उनले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

उक्त जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका साहले पीडितलाई दाबी गरिएको रकम बुझाएपछि सोमबार बेलुका रिहा भएका हुन् ।

नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउने सेफ सन्तोष साह सन् २०२१ मा बीबीसीको चर्चित मास्टरसेफ कार्यक्रममा सहभागी भएपछि व्यापक रूपमा चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?