Butwal Today

एक दिनको विदाले पु-याएको चोट

१ असार २०८३, सोमबार
अ+
अ-

स्थानीय तहका लागि यो समय अत्यन्त जेठ र असार व्यस्त र चापपूर्ण हुने समय हो । बजेट तर्जुमा, योजना व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा अन्य प्रशासनिक कार्यका कारण एक छिन पनि फुर्सद हुने अवस्था रहँदैन ।

तर हाल भुक्तानी प्रणाली अनलाइन तथा विद्युतीय माध्यममा आधारित भएकाले कार्यालय बाहिर रहँदा पनि ल्यापटप साथमा लिएर आवश्यक भुक्तानी कार्य सम्पन्न गर्न सकिन्छ। यसले भुक्तानी प्रक्रिया नरोकिई नियमित रूपमा सञ्चालन गर्न सहज बनाएको छ।

त्यसै गरी विद्युतीय हाजिरी प्रणाली, एब्ःक्, सूत्र लगायतका डिजिटल प्रणालीहरूले कार्यालयीय कामकाजलाई थप व्यवस्थित, छरितो र प्रभावकारी बनाएका छन् । यस्ता प्रविधिको प्रयोगले कार्यसम्पादनमा सहजता ल्याउनुका साथै प्रमुख प्रशासकीय अधिकृतलाई समेत जिम्मेवारी निर्वाह गर्न थप सुविधा र राहत प्रदान गरेको छ । शितगंगा नगरपालिकामा पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रम सञ्चालन भयो ।

उक्त कार्यक्रमका क्रममा नगर प्रमुखज्यू तथा उपप्रमुखज्यूसँग काठमाडौं जानुपर्ने विषयमा संवाद भइरहेको थियो। योजना शाखा, लेखा शाखा लगायत सम्बन्धित कर्मचारीहरूसँग पनि उक्त विषय जानकारीमा थियो ।त्यसै समय बजेट तर्जुमा प्रक्रियासँग सम्बन्धित कार्यपालिकाको बैठक समेत आयोजना भएको थियो। बैठकमा वडा अध्यक्षहरूबीच बजेटसम्बन्धी विषयमा राम्रो बहसपनि भयो ।

किनकी हामीले अषाढ ८ गते सभामा बजेट पेश गर्नु पर्ने थियो ।नगरपालिकाले अषाढ १ गते नै नीति तथा कार्यक्रम सभामा पेश गरिसकेको अवस्था पनि थियो । योजना शाखा र आर्थिक शाखा प्रमुख पनि यसमा निकै मेहनतका साथ काम गरिरहनु भएको थियो। समग्रमा कार्यालय राम्रै चलेको थियो । कामलाई छरितो बनाउनका लागि शाखा शाखामा पुगेर काम नै आफ्नो जिम्मेवारी निर्वाह गर्ने गरेको थिएँ ।

यसैबीच भालुवाङ क्षेत्रस्थित राप्ती खोलाको नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्काको म्याद समाप्त भइसकेको थियो । भालुवाङ सीमाक्षेत्रसँग जोडिएको उक्त खोलाको ठेक्काको अवधि सकिइसकेको अवस्थामा पनि केही म्याद थपका लागि निरन्तर दबाब सिर्जना गर्ने प्रयास भइरहेको थियो । राजस्व शाखाका कर्मचारी श्री कमल पन्थीबाहेक उक्त विषयमा वस्तुगत रूपमा तथ्य राखेर प्रतिरक्षा गर्ने अन्य व्यक्ति खासै देखिएका थिएनन ।

ठेक्का लिने पक्षबाट विभिन्न उच्च तहका व्यक्तिहरूको नामसमेत जोडेर दबाब सिर्जना गर्ने प्रयास गरिएको थियो। तर ठेक्काको म्याद समाप्त भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको हैसियतले म्याद थप गर्ने कुनै कानुनी आधार थिएन ।

यसका बाबजुद सम्बन्धित अपरिचित व्यक्तिहरूबाट राति करिब १० बजेसम्म फोन तथा अन्य माध्यमबाट सम्पर्क गरी दबाब दिने प्रयास भइरहेको थियो । भोलिपल्ट बिहानदेखि समेत पुनः सम्पर्कको प्रयास जारी रह्यो । मेरो बुझाइमा कानुनी रूपमा सम्भव नभएको विषयमा यसरी निरन्तर दबाब सिर्जना गर्नु उपयुक्त अभ्यास थिएन । यस्तो परिस्थितिले स्वाभाविक रूपमा मानसिक दबाबसमेत सिर्जना गरेको थियो ।

एकातर्फ व्यक्तिगत काम पेन्डिङ्ग थियो । केहि प्रशासनिक कामहरू सम्पन्न गर्नुपर्ने अवस्था थियो भने अर्कोतर्फ कानुनीरूपमा निर्णय गर्न नसकिने विषयमा निरन्तर दबाब सामना गर्नुपरेको थियो । त्यसैले आवश्यक सबै प्रशासनिक व्यवस्था मिलाई, जिम्मेवारी विधिवत रूपमा हस्तान्तरण गरी तथा कार्यालयको कामकाज प्रभावित नहुने सुनिश्चित गरेर मात्र बाहिर जाने व्यवस्था मिलाएको थिएँ ।

हाल अधिकांश भुक्तानी तथा प्रशासनिक कार्यहरू अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएकाले म सधैं आफ्नो ल्यापटप साथमा राख्ने गर्दछु। आवश्यक पर्ने कुनैपनि कार्यालयको काम जहाँ रहे पनि तत्काल सम्पन्न गर्न सकिने अवस्था छ । कार्यालय बाहिर रहेको अवस्थामा समेत कार्यालयीय जिम्मेवारीबाट पूर्णरूपमा अलग हुने अवस्था थिएन र आवश्यक कामहरू निरन्तर रूपमा सम्पादन भइरहेको नै थियो ।

यसैबीच प्राइम टेलिभिजनले कार्यालयलाई सम्बोधन गरी पठाएको पत्र मैले देखेको थिएँ । कुनैपनि कार्यक्रमको आर्थिक प्रस्ताव स्वीकृत गर्ने तथा रकम एकिन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको पनि हुने भएकाले कार्यक्रम सञ्चालन हुनुअघि आवश्यक जानकारी तथा समन्वय भएको भए अझ उपयुक्त हुने थियो थियो ।

कार्यक्रम आवश्यक खरिद प्रक्रिया पूरा गरी सञ्चालन गरिएको भए प्रशासनिक रूपमा थप सहज हुने थियो । सामान्यतया यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने, प्रस्ताव स्वीकृत गराउने तथा सम्भावित आर्थिक दायित्वका विषयमा स्पष्ट हुने प्रचलन छ । कार्यक्रम सम्पन्न हुनु आफैंमा सकारात्मक विषय हो ।

कार्यक्रम प्रस्तोता तथा सम्बन्धित पक्षहरूले कार्यालय प्रमुखसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक समन्वय गरेको भए अझ राम्रो हुने थियो । संस्थागत कार्यहरूमा सूचना आदानप्रदान, समन्वय र परामर्शको अभ्यासले आपसी समझदारी र कार्यसम्पादन दुवैलाई मजबुत बनाउँछ भन्ने मलाई लाग्छ । उक्त समयमा म व्यक्तिगत प्रशासनिक कामका लागि एक दिन कार्यालय बाहिर रहेको थिएँ ।

कार्यालय छोड्नुअघि विधिवत रूपमा निमित्तको जिम्मेवारी समेत सुम्पिएको थिएँ । कार्यालयको नियमित कामकाज प्रभावित नहोस् भन्ने विषयमा आवश्यक व्यवस्था मिलाइएको थिएँ । तर प्रस्तुत विषयलाई लिएर मैले लामो समय कार्यालयमा अनुपस्थित रहेको जस्तो अर्थ लाग्ने गरी केही टिप्पणी तथा अभिव्यक्तिहरू सार्वजनिक रूपमा आए, जुन वास्तविक परिस्थितिसँग पूर्णरूपमा मेल खाने देखिएन ।

विशेषगरी जिम्मेवार सहकर्मी तथा पदाधिकारीहरूबाट यस्तो बुझाई व्यक्त हुँदा केही असहज महसुस भएको छ । कुनैपनि विषयमा धारणा बनाउँदा तथ्य, प्रक्रिया, कानूनी अवस्था तथा त्यसबेलाको वास्तविक परिस्थितिलाई समेत ध्यानमा राखी वस्तुगत मूल्याङ्कन गरिनु आवश्यक हुन्छ । एकपक्षीय बुझाईभन्दा समग्र सन्दर्भलाई आधार बनाएर गरिने निष्पक्ष मूल्याङ्कनले संस्थागत विश्वास, आपसी सम्मान र सुशासन प्रवद्र्धन गर्न थप सहयोग पु¥याउँछ भन्ने मलाई लाग्छ ।

प्रमुख प्रशासकीय अधिकृत पनि आखिर एउटा व्यक्ति नै हो, जसको आफ्नै व्यक्तिगत, पारिवारिक तथा कानूनी दायित्वहरू पनि हुन्छन् । कार्यालयमा एक दिन मात्र बिदामा बसेको आधारमा आत्मसम्मानमा चोट पुग्ने गरी गरिने टिका टिप्पणीले सम्बन्धित व्यक्तिलाई मात्र होइन, अन्ततः संस्थाको कार्य वातावरण र संस्थालाई समेत असर पु¥याउन सक्छ भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ ।

प्रमुख प्रशासकीय अधिकृतको डेरा नै नगरपालिकामा हुने, दिनरात कार्यालयको जिम्मेवारीमा खटिनुपर्ने तथा आवश्यक पर्दा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायत विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्नुपर्ने अवस्था रहन्छ । त्यसैले निज कार्यालय बाहिर जाँदा पनि जिम्मेवारीको व्यवस्था मिलाएर सम्बन्धित निकायहरूसँग समन्वय गरेर मात्र बाहिर गएको हुन्छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई आरोप र आलोचनाको केन्द्रबिन्दु बनाएर नगरपालिकाको हित प्रवद्र्धन हुँदैन । बरु आपसी सम्मान, विश्वास र सौहार्दपूर्ण कार्य वातावरण निर्माण गर्दै सबैलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रोत्साहित गर्न सकियो भने त्यसबाट संस्था, जनप्रतिनिधि, कर्मचारी र समग्र नगरपालिकाकै हित सुनिश्चित हुन्छ ।

त्यसैले गल्ती खोज्नेभन्दा सहयोग गर्ने, अविश्वास बढाउनेभन्दा विश्वास निर्माण गर्ने र विवाद सिर्जना गर्नेभन्दा सहकार्यको वातावरण बनाउने दिशामा हामी सबै अग्रसर हुन सकेमा नगरपालिकाको प्रतिष्ठा, कार्यसम्पादन र सेवा प्रवाह अझ प्रभावकारी बन्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रमुख प्रशासकीय अधिकृत, शितगंगा नगरपालिका 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?