© 2026
पाल्पा । रामपुर नगरपालिकाले वडा नं. ९ का स्थानीय वासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिका कार्यालयको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घर आँगनमै सेवा प्रदान गर्न शुक्रबार शिविर सञ्चालन गरेको हो ।
आधारभूत स्वास्थ्य केन्द्र जब्गादीको प्राङ्गणमा सञ्चालन भएको शिविरमा स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरू उपलब्ध गराइएको थियो । भूगोलका हिसाबले नगरपालिकाको केन्द्रबाट टाढा रहेको वडालाई प्राथमिकतामा राख्दै शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगरवासीको आवश्यकता र सेवामा सहज पहुँच सुनिश्चित गर्न घुम्ती शिविर सञ्चालन गरिएको बताए । उनले कार्यालयबाट दूरी र पहुँचका हिसाबले टाढा रहेका अन्य क्षेत्रका नागरिकलाई समेत यस्ता शिविरमार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
शिविर मार्फत योजना तथा कार्यक्रमको भुक्तानी, कृषि तथा पशु सेवा, आँखा, कान, घाँटी तथा दन्त परीक्षण, संस्था तथा व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण, साथै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा प्रदान गरिएको थियो ।
वडाध्यक्ष दिलबहादुर रानाका अनुसार शिविर बाट एकै दिन ६ सय ८१ जनाले विभिन्न सेवा लिएका छन् । रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले स्वास्थ्य जाँच तथा ल्याब सेवामा ४५५ जना, आँखा तथा कान परीक्षणमा ४७९ जना, दन्त परीक्षणमा ८६ जना, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र सेवामा ६ जना, योजनाको भुक्तानी सेवामा २८ जना, व्यवसाय नवीकरणमा ५ जना, पशु सेवामा २२१ जना र कृषि सेवामा २१० जनाले सेवा लिएको जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञसहित स्वास्थ्य परीक्षण, नेपाल परिवार नियोजन सङ्घको सहकार्यमा महिलाको पाठेघरको क्यान्सर परीक्षण र काली गण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परीक्षणसँगै औषधि वितरण गरिएको थियो ।
घुम्ती शिविरमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थितिमा सेवा प्रवाह गरिएको थियो ।