© 2026
गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा सम्पन्न निर्वाचनमा २१५ भन्दा बढी फर्जी मत खसालिएको आरोप सार्वजनिक भएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फका उम्मेदवार होविन्द्र कार्कीले विदेश तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताका नाममा फर्जी मत खसालिएको दाबी गर्दै पुनः मतगणना र निष्पक्ष छानबिनको माग गरेका छन्।
कार्कीले सामाजिक सञ्जाल तथा प्रेस विज्ञप्तिमार्फत निर्वाचनमा धाँधली भएको आरोप लगाएका हुन्। उनले पत्रकार सम्मेलन गरी यस विषयमा थप तथ्य सार्वजनिक गर्ने र निष्पक्ष छानबिनका लागि दबाब दिने बताएका छन्। कार्कीका अनुसार क्षेत्रीय अधिवेशन सुरुमा रिडीमा गर्ने निर्णय भएको थियो। तर, भारी वर्षाका कारण अधिवेशनस्थल परिवर्तन गरी रानीबासमा निर्वाचन गराइएको थियो। स्थान परिवर्तनका कारण कतिपय वास्तविक मतदाता उपस्थित हुन नसकेको अवस्थामा उनीहरूकै नाममा मत खसालिएको कार्कीको आरोप छ। आफूले २१५ भन्दा बढी फर्जी मत खसालिएको पाएको दाबी गर्दै कार्कीले मतदाता विवरण, मतदानसम्बन्धी अभिलेख तथा मतगणना प्रक्रियाको छानबिन गर्न माग गरेका छन्।
निर्वाचन मण्डलले गरिरहेको छ छानबिन
विवाद सार्वजनिक भएपछि निर्वाचन मण्डलका संयोजक अधिवक्ता भीम न्यौपानेले आरोपबारे छानबिन भइरहेको बताएका छन्। मतदाता प्रमाणीकरण गर्ने जिम्मेवारी आफ्नो भएको स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको दाबीको सत्यतथ्य जाँच भइरहेको जानकारी दिएका हुन्। नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले आफूले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी पाएको बताए। निर्वाचनमा फर्जी मत खसेको विषयमा क्षेत्रीय निर्वाचन मण्डलसँग बुझ्नुपर्ने उनको भनाइ छ। पन्थीका अनुसार निर्वाचन प्रक्रिया नै सम्पन्न भइसकेको अवस्थामा अन्य विषय उठाउनु सान्दर्भिक हुँदैन।
कार्कीले लगाएको आरोप पुष्टि भएमा त्यसले क्षेत्रीय निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउन सक्छ। विवाद निरूपणका लागि मतदाता नामावली, मतदानका क्रममा गरिएको प्रमाणीकरण, मतपत्रको अभिलेख र निर्वाचन परिणामको विवरण जाँच गर्नुपर्ने देखिन्छ। यद्यपि, २१५ भन्दा बढी फर्जी मत खसेको आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। निर्वाचन मण्डलको छानबिन र सम्बन्धित अभिलेखको परीक्षणबाट मात्रै आरोपको सत्यतथ्य स्पष्ट हुने निर्वाचन मण्डलले बताए ।
