Butwal Today

मरुभूमि छोडेर मर्चवारको माटो रोजे

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

भैरहवा । मर्चवारको तातो हावा, सुख्खा माटो र चुनौतीपूर्ण वातावरणबिच हरियालीको सपना रोप्नु आफैँमा साहसको विषय हो ।

बिजुली, सिँचाइ, मल तथा बीउ लगायतको समस्याले अन्य नेपाली झै सीमामै बस्ने मर्चवारवासी पनि पिल्सिएका छन् । यस्तो अवस्थामा वैदेशिक रोजगारीको बाटो छोडेर आफ्नै गाउँको माटोमा पसिना बगाउने निर्णय गर्नु ठुलो चुनौती हो । यही चुनौतीलाई अवसरमा बदल्ने प्रयास गर्न रुपन्देहीको मर्चवार गाउँपालिका–१, सुमेरगढका युवा किसान विभाण्ड यादव लागि परेका छन् ।

केही वर्षअघि उनी पनि अन्य नेपाली युवा जस्तै रोजगारीको खोजीमा विदेशिएका थिए । परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्य सुरक्षित बनाउने उद्देश्यले खाडी मुलुक पुगेका यादवले त्यहाँ दुई वर्ष बिताए । तर, मरुभूमिको चर्को घाम र परदेशको जीवनले उनलाई आफ्नोपन दिन सकेन ।

“५० डिग्रीभन्दा माथिको गर्मीमा काम गर्दा शरीर मात्रै होइन, मन पनि थाक्दो रहेछ,” उनी भन्छन्, “दुई वर्षपछि महसुस भयो, विदेशमा अरूको सपना पूरा गर्नुभन्दा आफ्नै माटोमा सङ्घर्ष गर्नु राम्रो रहेछ ।” त्यही सोचले उनलाई गाउँ फर्कायो । फर्किएपछि उनले रोजेको बाटो थियो–कृषि ।

नेपाल फर्किएपछि यादवले सुरुमा सियारी क्षेत्रमा केरा खेतीको परीक्षण गरे । उत्पादन राम्रो भए पनि मर्चवारबाट खेतसम्म पुग्न र व्यवस्थापन गर्न कठिनाइ भएपछि उनले आफ्नै क्षेत्र मर्चवारमा जग्गा भाडामा लिएर व्यावसायिक खेती विस्तार गर्ने निर्णय गरे ।

सुरुवातमा धेरैले उनको निर्णयलाई जोखिमपूर्ण भने । मर्चवारमा परम्परागत खेतीलाई छोडेर व्यवसायीक खेती तर्फ लाग्ने थोरै किसानहरू मध्ये एक बने उनी । धेरैले उनलाई डर देखाए, तर उनले हार मानेनन् । मेहनत, अध्ययन र अनुभवलाई आधार बनाएर उनले ‘बिभाण्ड एकीकृत कृषि फार्म’ स्थापना गरे ।

आज उनको फार्म करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । यति ठुलो परिमाणमा एकीकृत खेती गर्ने मर्चवारमै यादव पहिलो हुन् । टाढाबाट हेर्दा हरियो समुन्द्र झैँ देखिने केराबारीले मर्चवारको कृषि सम्भावनालाई नयाँ परिचय दिएको छ । “कृषिमा मेहनत धेरै छ, जोखिम पनि धेरै छ, तर परिणाम पनि राम्रो आउँछ,” यादव भन्छन् ।

व्यावसायिक केरा खेती सुरु गरेपछि सफलता तुरुन्तै प्राप्त भएन । सुरुवाती वर्षमा बजार मूल्य राम्रो पाए पनि त्यसपछिका दुई वर्ष उनले निकै कठिन अवस्था झेले । उत्पादन बढ्दै गयो तर बजारमा मूल्य घट्दै गयो । एक समय यस्तो आयो जब किसानहरूले प्रतिदर्जन केरा १० देखि १२ रुपैयाँमै बेच्न बाध्य भए । “जग्गाको भाडा, मलखाद, सिँचाइ, मजदुरी सबै खर्च जोड्दा घाटामै काम गरिरहेको जस्तो लाग्थ्यो,” उनी सम्झिन्छन् ।

तर उनले खेती छोडेनन् । बरु खेती व्यवस्थापनमा सुधार गरे, उत्पादन बढाए र बजारको अध्ययन गरे । बिस्तारै अवस्था सुध्रँदै गयो । पाँच वर्षको अथक मेहनतपछि छैटौँ वर्षमा उनको फार्मले राम्रो उत्पादन दिन थालेको थियो । यस पटकको सिजनलाई लिएर उनी निकै आशावादी थिए ।

अहिले सरकारले भारतबाट केरा आयात रोकेको छ । राम्रो मूल्य पाउने उनले अपेक्षा गरेका थिए । तीज सम्म खेतबाट केरा बजार पुग्ने अनुमान पनि थियो । यस वर्ष फार्ममा उत्पादन उत्साहजनक नै थियो । सबै कुरा योजनाअनुसार चलिरहेको जस्तो देखिन्थ्यो ।

तर प्रकृतिको योजना फरक रहेछ । जेठ महिनाको सोमबार दिउँसो, करिब ३–४ बजेतिर, अचानक स्थानीय क्षेत्रमा भीषण हावाहुरी चल्यो । दर्जनौ विद्युत् पोल भाँचियो, सय भन्दा बढी रुखहरू ढले । यस संगै ढले बिभाण्डका सपनाहरू पनि ।

“२–३ किलोमिटरको दायराभित्र मात्रै केन्द्रित भएर आएको त्यो आँधी निकै शक्तिशाली थियो,” यादव भन्छन्, “केही मिनेटमै सबै कुरा बदलियो ।”  आँधी रोकिएपछि उनले खेततर्फ हेरे । हरियालीले भरिएको फार्म अब उजाड दृश्यमा बदलिएको थियो । तीन हजारभन्दा बढी केराका बोटहरू ढलेका थिए ।

कतिपय बोट जरा उखेलिएर पल्टिएका थिए भने कतिपय बोटहरू फलसहित भुईँमा लत्रिएका थिए । “त्यो दृश्य देख्दा बोल्नै सकिनँ,” उनी भावुक बन्दै भन्छन्, “वर्षौँको मेहनत एक छिनमा ढलेको देख्दा मन भक्कानियो ।”

सामान्य बजार मूल्यका आधारमा एउटा केराको बोटबाट किसानले औसत ६०० रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्छन् । यस हिसाबले मात्रै पनि यादवको फार्ममा १८ लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको अनुमान छ ।

तर उनको भनाइमा आर्थिक क्षतिभन्दा ठुलो पीडा मानसिक हुन्छ । “पैसा त फेरि कमाउन सकिन्छ,” उनी भन्छन्, “तर एक किसानले दिनरात लगाएर हुर्काएको बाली आफ्नै आँखाअघि ढल्दा त्यो पीडा शब्दमा भन्न सकिँदैन ।”

क्षति भएपछि धेरै किसान निराश हुन्छन् । तर यादवले हार मानेनन् । आँधी रोकिएको भोलिपल्टदेखि नै उनी मजदुरहरूसँग खेतमा खटिन थाले । ढलेका बोटहरूलाई डोरीले बाँधेर सिधा बनाउने, बाँसको टेको दिने, जरालाई मजबुत बनाउन मल हाल्ने र अनावश्यक पात काट्ने काम भइरहेको छ । “सबै बोट बचाउन सम्भव छैन,” उनी भन्छन्, “तर जति बचाउन सकिन्छ, त्यति बचाउनुपर्छ ।”

उनको विश्वास छ—कृषिमा धैर्य नै सबैभन्दा ठुलो पुँजी हो । बिभाण्डको समस्या केवल आँधीले सिर्जना गरेको होइन । मर्चवार क्षेत्रका अधिकांश किसान अझै पनि आधारभूत कृषि पूर्वाधारको अभावसँग जुधिरहेका छन् । सिँचाइका लागि पर्याप्त विद्युत् सुविधा छैन । कतिपय ठाउँमा किसानले आफ्नै खर्चमा तार तानेर मोटर चलाउनुपर्ने अवस्था छ ।

यादवले पनि करिब ९ सय मिटरसम्म आफ्नै खर्चमा विद्युत् तार विस्तार गरेर सिँचाइको व्यवस्था गरेका छन् । “खेती गर्नुभन्दा पहिले पूर्वाधार बनाउने झन्झट धेरै छ,” उनी गुनासो गर्छन् ।

कृषि क्षेत्रको सबैभन्दा ठुलो सुरक्षा कवच मानिएको कृषि बिमाप्रति पनि यादवको विश्वास कमजोर भएको छ । सियारीमा खेती गर्दा उनले केराको बिमा गरेका थिए । त्यसबेला पनि आँधीका कारण क्षति भयो । तर बिमा दाबी प्रक्रिया निकै झन्झटिलो भयो । “धेरै पटक धाएँ, कागजपत्र बुझाएँ, तर अन्ततः पाएको रकम क्षतिको तुलनामा अत्यन्तै न्यून थियो,” उनी भन्छन् ।

उनको अनुभवले मर्चवारका धेरै किसानमा बिमाप्रति अविश्वास बढाएको छ । “कागजमा मात्रै बिमा छ, व्यवहारमा किसानले राहत पाउँदैन,” उनको भनाइ छ ।

चुनौतीका बाबजुद कृषि प्राविधिकहरू मर्चवार क्षेत्रलाई केरा उत्पादनका लागि उपयुक्त मान्छन् । प्रशस्त जमिन, पर्याप्त घाम र बजारसँगको पहुँचका कारण यो क्षेत्र व्यावसायिक केरा उत्पादनको केन्द्र बन्न सक्ने सम्भावना छ । यादवजस्ता युवा किसानहरूले त्यो सम्भावनालाई व्यवहारमा प्रमाणित गरिरहेका छन् ।

उनको फार्ममा स्थानीय युवाले रोजगारी पनि पाएका छन् । उत्पादनले स्थानीय बजारलाई समेत सहयोग पु¥याएको छ ।  प्रकृतिले क्षति पु¥याएको छ, तर बिभाण्ड यादवको आत्मविश्वास ढालेको छैन । उनी फेरि नयाँ बोट रोप्ने तयारीमा छन् ।

“कृषक भनेको हार मान्ने मान्छे होइन,” उनी भन्छन्, “बाली नष्ट भयो भने फेरि रोपिन्छ, आँधी आयो भने फेरि उठिन्छ । किसानको जीवन नै यही हो ।” मर्चवारको तातो माटोमा पसिना बगाउँदै उनले केवल केरा मात्र उत्पादन गरिरहेका छैनन्, उनी गाउँमै सम्भावनाको बीउ रोपिरहेका छन् ।

तर यस्ता किसानको सङ्घर्षलाई केवल व्यक्तिगत साहसको भरमा छोड्न मिल्दैन । कृषि आत्मनिर्भरताको नारा व्यवहारमा उतार्ने हो भने राज्यले किसानलाई विपत्का बेला राहत, प्रभावकारी कृषि बिमा, भरपर्दो विद्युत् तथा सिँचाइ सुविधा र बजार सुनिश्चितता दिनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?