Butwal Today

विश्व बालश्रम विरुद्धको दिवस

२९ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

‘बालश्रम अन्त्य गरौँ, बाल अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ विश्व बालश्रमविरुद्धको दिवस आज मनाईदैछ । यो दिवस मनाउँदै गर्दा राज्यले जोखिमपूर्ण बालश्रम उन्मूलन गर्ने प्रतिबद्धता बर्षौ पहिले गरेको थियो तर त्यसको कार्यान्वयनमा अझै उदासीनता छ ।

बाल अधिकार संरक्षण स्थानीय तहको पनि दायित्व हो । शारीरिक र मानसिक विकासका लागि महत्त्वपूर्ण समयमा श्रम गर्न र यौन दुर्व्यवहार लगायतका श्रम शोषण सहन अझै पनि उनीहरू बाध्य छन् ।

अर्कोतर्फ बालबालिकालाई घरेलु कामदारका रूपमा काम लगाएर श्रम शोषण गर्ने क्रम अझै रोकिएको छैन । त्यसमा पनि अधिकांश राजनीतिक वा प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण स्थानमा रहेका व्यक्तिहरूले नै बालश्रमको ठाडो उल्लङ्घन गर्दै आएका छन् ।

जोखिमपूर्ण बालश्रम रोक्न मात्र होइन, बाल अधिकारका अरू पक्षको ग्यारेन्टीमा पनि राज्य कमजोर भएको छ । बालबालिकालाई कानुनले निषेध गरेको काममा लगाउनेहरूसँग राज्यले तिनको शिक्षा र स्वास्थ्यका लागि लाग्ने रकम क्षतिपूर्ति स्वरूप असुलउपर गराउने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।

स्थानीय निकायले आफ्नो क्षेत्रमा बालबालिका सम्बन्धी विवरण मात्र अद्यावधि र अनुगमन गर्ने हो भने बालश्रम मात्र हैन बालबालिका ओसारपसार नियन्त्रण गर्न पनि सहयोग पुग्नेछ । राज्यले सबैभन्दा बढी गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बालबालिकाको भविष्यप्रति नै हो । अहिले बालबालिकालाई उपेक्षा गर्ने राज्य वा समाज भोलीको भविष्यप्रति जबाफदेही समेत हुन सक्दैन् ।

नेपालमा अहिलेपनि बालबालिकाहरू अनेकौं शारीरिक तथा मानसिक शोषणको शिकार भैरहेका छन् । सिमान्तकृत बालबालिकाहरू पढाईको अवसरबाट बञ्चित छन् । बाल श्रम शोषणको श्रृंखला बर्षौदेखि यसैगरी चल्दै आएको छ ।

बालश्रम नियन्त्रणको कुरा कानुनमा उल्लेख गरिएपनि ब्यवहारमा शोषणको पहाड छ । अर्कोतर्फ उमेर नपुगी बालश्रममा लगाउनेहरूले समेत बालबालिकालाई शोषण गरिरहेका छन् ।

यस्ता धेरै घटना छन, जसले बालबालिकाहरू अहिलेपनि अनेक प्रकारको भेदभाव, दुव्र्यवहारको शिकार भएका छन । नेपाल सरकारले १६ बर्ष नपुगी कोही कसैलाई पनि कुनैपनि प्रकारको काम वा श्रममा लगाउन नपाउने कानुन वनाएको छ तर व्यवहारमा त्यसको ठाडै उल्लङ्घन भैरहेको छ । बाल श्रम शोषणका घटनाका कारण प्रताडित बालबालिकाहरूको बेदना हरेक दिन सञ्चार माध्यमबाट सार्वजनिक भैरहेको छ ।

बाल श्रमविरुद्धको विश्व दिवसको उद्देश्यपनि बाल श्रमको विश्वव्यापी विस्तार र यसको नियन्त्रणमा आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । तसर्थ बालश्रम शोषण अन्त्यमा सम्बद्ध सवै पक्षको ध्यान जाओस् । औद्योगिक प्रतिष्ठानमामात्रै होइन, घरेलु कामदारको रूपमा अझै पनि उमेर नपुगेका बालबालिकालाई घरको काममा राख्ने गरेको देखिएको छ ।

घर बनाउने काममा पनि उनीहरू विहानदेखि साँझ अबेरसम्म काममा लादिएका छन् । कृषिका क्षेत्रमा पनि उमेर नपुगेका बाल श्रमिकहरूको प्रयोग भैरहेको छ । अवको दिनमा बालश्रम अन्त्यका लागि सरकार, रोजगारदाता र श्रमिक संठनहरूले ऐक्यबद्धता प्रकट गर्नुपर्दछ । प्रतिवद्धता कार्यान्वयन गरेरमात्रै होइन, देखिनेगरी लागू हुनु जरुरी छ ।

यो बर्षको नाराले पनि बालश्रम अन्त्य गर्न बाल अधिकार सुनिश्चित गर्नुपर्ने भनेको छ । दिवसले भनेजस्तै नेपालबाट मात्रै होइन, विश्वबाटै बालश्रम अन्त्यको लागि अव पहल गर्न ढिलाई गर्नु हुँदैन । त्यसका लागि फेरीपनि बालश्रम नियन्त्रणको लागि सवैले ऐक्यबद्धता प्रदर्शन गर्नु जरुरी छ ।

कहालीलाग्दो बालश्रम न्यूनिकरणको सवाललाई अझै पेचिलो बनाउनेतर्फ पनि अव पहल आवश्यक छ । त्यसका लागि फेरीपनि सरकार, रोजगारदाता, नागरिक समाज, श्रमसंग सम्वन्धित संगठनहरूले गंभीर चासो दिनु जरुरी छ । बालश्रम मुक्त भनेर हुँदैन तर न्यूनिकरण गर्न सकिन्छ । गहिरो बनेर बसेको यो समस्या समाधानमा संयुक्त राष्ट्रसंघले समेत पहल गर्दै आएको छ ।

अवको दिनमा यो समस्याको चासो र चिन्ता दिवसको दिनमा मात्रै होइन, अरू दिनमा पनि गर्न सकियो भनेमात्र समस्या समाधानमा बल पुग्नेछ । सम्बद्ध सवै पक्षको हेक्का रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?