Butwal Today

गुल्मीमा ९८ पसलको अनुगमन

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दुई दिनमा जिल्लाका ९८ वटा पसलमा बजार अनुगमन गरेको छ ।

मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका अन्तर्गतका विभिन्न वडामा गरिएको अनुगमनमा खाद्य सामग्री, फलफूल, किराना, मासु पसल, हार्डवेयर, होटल, ग्यारेज, इलेक्ट्री तथा औषधि पसलको निरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख राजीव अर्यालका अनुसार उपभोक्तालाई सचेत र जागरूक बनाउने उद्देश्यले वार्षिक वाणिज्य बजार अनुगमन कार्यक्रम अन्तर्गत नियमित रूपमा अनुगमनलाई निरन्तरता दिइएको हो ।

अनुगमनका क्रममा केही पसलमा मूल्य सूची टाँस नगरेको,उपभोक्तालाई बिल नदिएको, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको तथा खाद्य र मासुजन्य वस्तु एउटै स्थानमा राखिएको तथा कतिपयले व्यवसाय नै दर्ता नगरेको पाइएको कार्यालयकी सूचना अधिकारी सपना पाण्डे पन्थीले जानकारी दिएकी छन् ।

बरामद गरिएका केही सामग्री स्थानीय तह र प्रहरीको रोहवरमा मुचुल्का उठाई नष्ट गरिएको कार्यालयले जनाएको छ ।अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुसिकोट उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?