© 2026
नेपालको राजनीतिक इतिहासमा एउटा कुरा बारम्बार दोहोरिन्छ– त्यो हो अनुहार बदलिन्छ तर व्यवहार बदलिँदैन । दलहरू नयाँ हुन्छन्, नारा नयाँ हुन्छन्, चुनावी आश्वासन नयाँ हुन्छन् तर अन्ध समर्थनको रोग भने पुरानै रूपमा बाँचिरहन्छ ।
हिजो काँग्रेस समर्थकलाई झोले भनिन्थ्यो, एमाले कार्यकर्तालाई अन्धभक्त भनिन्थ्यो, माओवादी समर्थकलाई नेताको गल्तीमा पनि ताली बजाउने समूह भनेर आलोचना गरिन्थ्यो । त्यो बेला सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै धारणा बलियो थियो – पुराना दलका समर्थक नै देश बिग्रनुको मूल कारण हुन् भन्ने तर समयसँगै त्यो प्रश्न उल्टिएको छ के हामीले झोलेको परिभाषा परिवर्तन गरेका छौँ, कि केवल झन्डा बदलिएका छन् ? नेपालमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक परिवर्तन केवल चुनावी परिणामको कथा होइन ।
दशकौँदेखि जमेर बसेको राजनीतिक संरचना, भ्रष्टाचारप्रति बढ्दो आक्रोश, बेरोजगारीको पीडा, अवसरको अभाव र विदेश पलायनको बाध्यताले जनतामा गहिरो असन्तोष जन्माएको थियो । यही असन्तोषले नयाँ राजनीतिक शक्तिलाई ठाउँ दियो । युवाहरू सडकमा मात्र होइन, सोचमा पनि परिवर्तन चाहन्थे । उनीहरूले नेताको पूजा होइन, जवाफदेहिता खोजे ।
उनीहरूले भाषण होइन, परिणाम मागे । त्यतिबेला धेरैलाई लागेको थियो अब त नेपालमा राजनीतिक संस्कार बदलिन्छ, अब त नेताभन्दा जनता ठूलो हुन्छ र अव प्रश्न गर्ने संस्कृति स्थापित हुन्छ तर व्यवहारमा देखिएको परिवर्तन अझै अपूरो छ ।
नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै एउटा नयाँ किसिमको समर्थक संस्कृति पनि बढ्दै गएको देखिन्छ । जहाँ आलोचना सुन्ने भन्दा बचाउ गर्ने प्रवृत्ति बलियो छ, जहाँ तथ्यभन्दा भावना ठूलो हुन्छ, जहाँ आफ्ना नेताको गल्तीलाई स्वीकार गर्नुभन्दा व्याख्या गरेर ढाकछोप गर्ने अभ्यास सामान्य बन्दै गएको छ । हिजो जुन व्यवहार पुराना दलका समर्थकमा देखिन्थ्यो, आज त्यही व्यवहार नयाँ नाम र नयाँ झन्डा मुनि पुनः दोहोरिएको देखिन्छ ।
पात्र फेरिएका छन् तर मानसिक संरचना उस्तै छ । झोले हुनु कुनै दलको नामसँग जोडिएको कुरा होइन । झोले हुनु एउटा सोच हो । जब व्यक्तिले आफ्नो नेताको गल्ती देख्दापनि मौनता रोज्छ, जब राष्ट्रिय हित भन्दा दलको हितमाथि राखिन्छ, जब प्रश्न गर्ने व्यक्तिलाई शत्रु मानिन्छ, जब विचारभन्दा व्यक्ति ठूलो बनाइन्छ, तब त्यही मानसिकता जन्मिन्छ जसलाई झोले भनिन्छ ।
समस्या दलमा होइन, समस्या त्यो संस्कृतिमा छ जसले नेतालाई आलोचना भन्दा माथि राख्छ । आज सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाइदिएको छ बहस तथ्यमा होइन, निष्ठामा केन्द्रित हुन्छ । कुनैपनि विषय उठ्नेबित्तिकै दुई ध्रुव तयार हुन्छन् ।
एउटा पक्ष जसले आफ्नो नेताको हरेक कदमलाई सही ठहर्याउन खोज्छ, अर्को पक्ष जसले हरेक कुरालाई अस्वीकार गर्छ र बीचमा सत्य हराउँछ । कुनैपनि विषयमा विवेकपूर्ण छलफल हुनुभन्दा पहिले नै आरोप र प्रत्यारोप सुरु हुन्छ । यस्तो वातावरणमा आलोचना अपराध जस्तो बन्न थाल्छ र अन्धसमर्थन देशभक्ति जस्तो देखिन थाल्छ । चुनावले आशा जगाएको थियो ।
पुराना दलहरूप्रति जनताको असन्तोष स्पष्ट थियो र नयाँ विकल्पप्रति आकर्षण बढेको थियो । तर चुनाव केवल अवसरको ढोका हो, संस्कार परिवर्तन गर्ने औजार होइन । यदि मतदाताको सोच परिवर्तन भएन भने नयाँ अनुहारले पनि पुरानै शैली दोहो¥याउन सक्छ । यही कारण आज “के नेपालमा राजनीतिक परिवर्तन वास्तवमै विचारमा आधारित थियो, कि केवल निराशाको परिणाम थियो ?” भनेर प्रश्न उठ्न थालेको छ ।
सबैभन्दा ठूलो विडम्बना यही हो कि जुन प्रवृत्तिविरुद्ध परिवर्तनको लहर उठेको थियो, त्यही प्रवृत्ति नयाँ रूपमा पुनः देखापर्न थालेको छ । हिजो आलोचना गर्नेहरू आज आलोचना सहन सकिरहेका छैनन् । हिजो प्रश्न उठाउनेहरू आज प्रश्न सुन्न तयार छैनन् । हिजो अन्धभक्तिको विरोध गर्नेहरू आज आफ्नै अन्धविश्वासलाई सही ठह¥याउन व्यस्त छन् । यसरी परिवर्तनको नाममा फेरी त्यही चक्र घुम्न थाल्यो भने के हामीले साँच्चै परिवर्तन ल्यायौँ, कि केवल परिवर्तनको अभिनय ग¥यौ ? भन्ने प्रश्न गम्भीर हुन्छ ।
नेपाल अहिले त्यही मोडमा छ जहाँ आशा र यथार्थ आमनेसामने छन् । एउटा पक्ष भन्छ– पुरानो व्यवस्था भत्कियो, नयाँयुग सुरु भयो । अर्को पक्ष भन्छ केवल अनुहार फेरियो, प्रणाली उस्तै छ । तर यी दुवै तर्कभन्दा माथि एउटा ठूलो प्रश्न छ यदि नागरिकको सोच परिवर्तन भएन भने कुनैपनि राजनीतिक परिवर्तन दीर्घकालीन हुन सक्छ कि सक्दैन ? किनकि अन्ततः लोकतन्त्रको शक्ति नेतामा होइन, नागरिकको चेतनामा हुन्छ ।
जब नागरिकले प्रश्न गर्न छोड्छ, नेताले गल्ती गर्न थाल्छ । जब समर्थन विवेकभन्दा ठूलो हुन्छ, सत्य कमजोर हुन्छ र जब समाजमा आलोचना शत्रुता बन्न थाल्छ, त्यहीँबाट लोकतन्त्र आफ्नो आत्मा गुमाउन थाल्छ ।
आजको नेपालमा यही प्रश्न झन् गहिरिँदै गएको छ कि हामी सचेत नागरिक बन्दैछौँ कि केवल नयाँ नामका पुराना सोचहरू बोकेर हिँडिरहेका छौँ ? यदि परिवर्तन केवल झन्डा बदल्ने प्रक्रियामात्र हो भने त्यसले इतिहास बदल्दैन, केवल भ्रम बदल्छ र यही बिन्दुमा पुगेर सबैभन्दा महत्वपूर्ण प्रश्न अझै खुला छ, किनकि परिवर्तन केवल चुनावले ल्याउने कुरा होइन, त्यो त चेतनाले निर्माण गर्ने कुरा हो ।
मतपेटिकामा राखिएको एउटा मतले सरकार बदल्न सक्छ, तर समाजको सोच नबदलिएसम्म त्यही सरकारमाथि उस्तै प्रश्न, उस्तै असन्तोष र उस्तै निराशा फेरि जन्मिन सक्छ । आज जुन असन्तुष्टि पुराना दलप्रति थियो, त्यो भोलि कुनै पनि नयाँशक्तिप्रति पनि उस्तै रूपमा फर्किन सक्छ, यदि समर्थकले आलोचनालाई स्वीकार गर्ने क्षमता विकास गरेनन् भने । नेपालको इतिहास हेर्दा एउटा चक्र स्पष्ट देखिन्छ– पहिले ठूलो आशा जन्मिन्छ, त्यसपछि उत्साहको लहर आउँछ, त्यसपछि शक्ति केन्द्रित हुन्छ, अनि विस्तारै जवाफदेहिता कमजोर हुँदै जान्छ ।
जब प्रश्नहरू कमजोर हुन्छन्, तब निर्णयहरू अपारदर्शी बन्छन् । जब अपारदर्शिता बढ्छ, तब फेरि नयाँ असन्तोष जन्मिन्छ । यही चक्र दशकौँदेखि घुमिरहेको छ । पात्र बदलिन्छन्, तर चक्र उस्तै रहन्छ । यस चक्रको मूल कारण नेताको कमी होइन, नागरिकको निरन्तर मौनता पनि होइन, बरु नागरिकको छनोटपूर्ण मौनता हो । आफ्ना नेताको गल्तीमा मौन बस्ने, तर अरूको गल्तीमा चर्को स्वर निकाल्ने प्रवृत्ति ।
आफ्ना समर्थक समूहको आलोचनामा आक्रोशित हुने, तर विपक्षी समूहको आलोचनामा उत्साहित हुने व्यवहार । यही दोहोरो मापदण्डले समाजलाई सचेत बनाउँदैन, विभाजित बनाउँछ । यहीँबाट झोले संस्कृतिको नयाँ संस्करण जन्मिन्छ जहाँ विचारभन्दा निष्ठा ठूलो हुन्छ, तथ्यभन्दा भावना ठूलो हुन्छ र सत्यभन्दा समूह ठूलो हुन्छ ।
यस्तो अवस्थामा कुनैपनि दल वा नेतृत्व दीर्घकालीन सुधारको बाटोमा जान सक्दैन, किनकि सुधार आलोचनाबाट आउँछ र आलोचना नै कमजोर बनाइन्छ । यदि कुनै समाजमा प्रश्न गर्नेहरूलाई निरुत्साहित गरिन्छ भने त्यो समाजमा गल्ती दोहोरिनु अनिवार्य हुन्छ र यदि गल्ती दोहोरिन थाल्छ भने परिवर्तन केवल भाषणमा सीमित हुन्छ, व्यवहारमा होइन ।
आज नेपाल फेरि त्यही संवेदनशील मोडमा छ । एकातिर नयाँ आशा छ, अर्कोतिर पुरानो निराशाको छाया अझै हटेको छैन । बीचमा जनता छन्, जसले फेरि एकपटक विश्वास गर्ने निर्णय गरेका छन् । तर विश्वाससँगै प्रश्न गर्ने साहस हरायो भने, त्यो विश्वास पनि समयसँगै निराशामा बदलिन सक्छ । त्यसैले प्रश्न दलहरूको होइन, नेताहरूको मात्र होइन, प्रश्न हामी सबैको हो—के हामी समर्थक भएरपनि सचेत रहन सक्छौँ ?
के हामी आफ्नो नेताको गल्ती देख्दा पनि सत्यको पक्षमा उभिन सक्छौँ ? के हामी समूहभन्दा माथि उठेर देशलाई प्राथमिकता दिन सक्छौँ ? वा हामी फेरि पनि त्यही चक्रमा फर्किँदैछौँ जहाँ आलोचना शत्रुता हो र अन्ध समर्थन निष्ठा ?
किनकि अन्ततः कुनैपनि देशलाई नेताले मात्र बनाउँदैन, देशलाई बनाउने वा बिगार्ने सबैभन्दा ठूलो शक्ति त्यहाँका नागरिकको चेतना हो र यदि चेतना फेरि पनि पुरानै ढाँचामा अड्कियो भने परिवर्तन केवल नाममा सीमित हुन्छ, परिणाममा होइन र त्यो अवस्थामा इतिहास फेरि आफैंलाई दोहो¥याउन तयार हुनेछ र त्यही दोहोरिने इतिहासको सबैभन्दा खतरनाक पक्ष यही हो ।
यसले नयाँ अनुहारमा पुरानै गल्तीहरूलाई स्वीकार्य बनाइदिन्छ । पहिले जुन कुरा अस्वीकार्य हुन्थ्यो, पछि त्यही कुरा “परिस्थिति बुझेर हेर्नुपर्छ” भन्ने बहानामा सामान्य बन्न थाल्छ । पहिले जुन व्यवहारको कडा विरोध हुन्थ्यो, पछि त्यही व्यवहार “हाम्रो मान्छे हो” भनेर बचाइन्छ । यहीँबाट नै नीति कमजोर हुन्छ, सिद्धान्त हराउँछ र अन्ततः देशको भविष्य व्यक्तिगत निष्ठाको बोझमाथि चिर्न थाल्छ ।
आज नेपाललाई अझै अर्को क्रान्तिको होइन, अर्को चेतनाको आवश्यकता छ । यस्तो चेतना जसले दल होइन, निर्णय हेर्छ । यस्तो चेतना जसले नेता होइन, परिणाम हेर्छ । यस्तो चेतना जसले समर्थनलाई अन्धविश्वास होइन, जिम्मेवारी ठान्छ ।
किनकि समर्थनको अर्थ आँखामा पट्टी बाँध्नु होइन, बरु अझ स्पष्ट देख्ने साहस राख्नु हो । यदि हामी फेरि पनि आलोचना सुन्न नचाहने, प्रश्नलाई शत्रु ठान्ने र आफ्नो समूहलाई सत्यभन्दा माथि राख्ने बाटोमा गयौँ भने इतिहासले हामीलाई फेरि त्यही ठाउँमा ल्याएर उभ्याउनेछ, जहाँबाट हामीले परिवर्तन सुरु गरेको ठानेका थियौँ । तर फर्केर हेर्दा थाहा हुनेछ हामी अगाडि होइन, केवल घुमेर उही ठाउँमा आइपुगेका रहेछौँ ।