© 2026
‘कृषि कर्मको धार, देश विकासको आधार’ भन्ने नाराका साथ आज राष्ट्रिय कृषक दिवस मनाईदैछ । कृषि प्रधान देशका कृषकको सम्मानमा मनाइने यो दिवस अहिलेसम्म औपचारिकमै सीमित भएको छ ।
वास्तविक कृषक जो कृषिमै निर्भर छन्, उनीहरूको सम्मानमा मनाउने गरिएको दिवस, उनीहरूले पत्तो नपाउनु चिन्ताको कुरा हो । अहिले पनि नेपालले वार्षिक ४० अर्बको चामल भारतबाट आयात खेप्नुपरिरहेको छ ।
त्यो देशका हामी कृषकहरू सरकारी प्रोत्साहनको अभावमा बाँचिरहेका छौँ । नेपालमा सरकारी र गैरसरकारी सङ्घ संस्थाको पहलमा कृषक सेवा समितिको आयोजनामा वि.सं. २०७० सालदेखि राष्ट्रिय कृषक दिवस मनाउँदै आएको छ । तर, कृषक दिवस मनाउँदै गर्दा कृषकहरू भने अझैपनि अपहेलित भएर बाँच्न विवस छन् । भनेको बेला मल पाउँदैनन् । सिँचाइको भरपर्दो व्यवस्था छैन् । कृषकको उचित सम्मान छैन् ।
कृषकलाई आएको सरकारी ऋण र अनुदानमा गैर कृषकको बोलवाला छ । कृषक सधै पिछडिएको, गरिव र विपन्न बन्नुपर्ने नियति छ । त्यही भारतमा कृषकको सम्मान कसरी हुन्छ ? त्यो हामी सवैले देखेको विषय हो तर नेपालमा वास्तविक कृषकले सम्मान पाउँदैनन् । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन् ।
नेपालका ८० प्रतिशत बढी जनता कृषिमै निर्भर छन् । त्यही भएर नेपाललाई कृषि प्रधान देश भनेर विश्वमै चिन्ने गरिएको छ तर आज त्यही देशका कृषकलाई सरकारले कुनैपनि प्रकारको प्रोत्साहन दिने गरेको छैन् ।
खेतीपातीको समय आउन लाग्यो, मलका लागि कृषकहरू भौतारिनु परेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक नारा लिएर आउँछ तर त्यसले वास्तविक कृषकको माग सम्बोधन गर्नै सकेको छैन् ।
कृषि दिवस मनाउँदै गर्दा सरकारले कृषिमा आकर्षित गराउने नयाँ र आकर्षक योजना दिन सकेको छैन् । नेपालले कृषि उत्पादन निर्यात गरेर वार्षिक करोडौं विदेशी मुद्रा आर्जन गर्न सक्छ तर यो सरकारमात्रै होइन, यसअघि गठन भएका कुनैपनि सरकारको प्राथमिकतामा परेनन् ।
केवल नारामा कृषि प्रधान देश भनियो, व्यवहारमा देखिएन । कृषकलाई चुस्ने काम मात्रै अहिलेसम्म भएको छ । वास्तविक कृषकको दुःख र पीडा बुझ्ने काम गहिरोरूपमा हुन सकेन । नेपालले कृषिबाटै वार्षिक अबौं निर्यात गर्ने संभावना छ तर ती संभावनाका बिषयमा सरकार कहिल्यै सकारात्मक भएन् । पछिल्लोसमय नीजि क्षेत्र कृषिमा आउन थालेको छ तर प्रोत्साहनको खाँचो छ ।
कुखुरा पालन, गाईभैंसी, बंगुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठूलो फड्को मारिसकेको छ । तर, युवाहरूलाई ब्यावसायीक कृषिमा जोड्ने कुरामा सरकार चुकेको छ । व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ ।
यसमा सरकारको साथ र सहयोगको खाँचो छ । त्यसका लागि युवावर्गमा इच्छाशक्ति र तत्परताको खाँचो पनि हुनुपर्दछ । सरकारले कृषिमा लाग्नेलाई प्रोत्साहनको नीति ल्याउनुपर्ने खाँचो छ । तसर्थ अव राष्ट्रिय कृषक दिवसको अवसरमा सरकारले कृषिको पुनरुत्थानको बिषयमा ध्यान दिने काम गरोस् ।
अवको दिनमा युवा वर्गलाई आफ्नै माटोमा उद्यमी र पौरखी बनाउन सरकारले ठोस योजना बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । युवा वर्गलाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न ढिला भैसकेको छ ।
तसर्थ अवको दिनमा राष्ट्रिय कृषक दिवसकै अवसरमा कृषि पेशाको प्रवद्र्धन गर्दै निर्वाहमुखी कृषिबाट आत्मनिर्भरताको बाटो तय गर्ने तथा नेपाली उत्पादन विदेश निर्यात गर्नेतर्फ सरकारको ध्यान जाओस् । कतिञ्जेल भारतबाट धान र चामल आयात गरिरहने ? सवैले सोचौं ।