Butwal Today

नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

२६ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसन ग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गरे । सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे ।

त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको जानकारी गराए । आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची थियो ।

त्यस्तै, सभामुख अर्यालले कार्य व्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको ब्यहोरा जानकारी गराउनुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यक्रम थियो ।

यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गने कार्यसूची थियो ।

साथै आव २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र अर्थमन्त्री डा वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।

त्यसै गरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम थियो ।

बैठकमा ‘सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?