© 2026
भैरहवा । मालपोत कार्यालय भैरहवाको सेवा प्रवाह अत्यन्तै ढिलासुस्ती र अव्यवस्थित भएको भन्दै स्थानीय व्यवसायीहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।
किराना तथा प्लास्टिक व्यवसायी सङ्घ सिद्धार्थनगर तथा सिद्धार्थ सञ्जाल रुपन्देहीको संयुक्त पहलमा शुक्रबार मालपोत कार्यालय प्रमुखलाई सात बुँदै ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई छिटो, दुरुस्त र छरितो बनाउन माग गरेको हो ।
सङ्घले मालपोत कार्यालयमा दैनिक रूपमा ठुलो सङ्ख्यामा सेवाग्राही आउने भए पनि कतिपय अवस्थामा आवश्यक जानकारीको अभाव, लामो प्रतीक्षा र व्यवस्थापन पक्षका केही चुनौतीका कारण सेवाग्राहीले अपेक्षाअनुसार सहज सेवा प्राप्त गर्न नसकेको जनाएको छ। यस अवस्थालाई सुधार गर्न सङ्घले कार्यालय प्रमुखसमक्ष लिखित रूपमा सात बुँदे सुझाव पेस गरेको छ।
सङ्घले प्रत्येक फाँटमा स्पष्ट सूचना बोर्ड राख्ने, आवश्यक कागजातहरूको सूची सेवाग्राहीले सजिलै देख्न सक्ने स्थानमा राख्ने, लाइनबद्ध सेवा प्रणालीलाई प्रभावकारी बनाउने तथा बढी भिड हुने स्थानमा डिजिटल टोकन प्रणाली लागू गर्न सुझाव दिएको छ।
त्यस्तै कम्प्युटर प्रणालीबाट गरिने काममा हुने ढिलाइ कम गर्न आवश्यक जनशक्ति तथा प्राविधिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
विशेष गरी कार्यालय अगाडिको खाली स्थानलाई पार्किङको सट्टा सेवाग्राहीको प्रतीक्षालयका रूपमा विकास आवश्यक रहेको सङ्घका अध्यक्ष टङ्क प्रसाद पौडेल बताउँछन् । उनका अनुसार मालपोत कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक, महिला तथा टाढाबाट आएका सेवाग्राहीलाई बस्ने उपयुक्त स्थानको व्यवस्था आवश्यक रहेको छ।
यसै गरी सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले सेवाग्राहीले सेवा प्राप्त गरेपछि कार्यालयप्रति सकारात्मक अनुभूति हुने वातावरण निर्माण गर्न कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् ।
यस विषयमा मालपोत कार्यालय भैरहवाका प्रमुख भूमि प्रशासन अधिकृत खेम नारायण पौडेलले कार्यालयमा सेवाग्राहीको चाप निरन्तर बढ्दै गएको स्वीकार गर्दै उपलब्ध स्रोत, साधन र जनशक्तिका आधारमा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताएका छन्।
उनले प्राप्त सुझावहरू सकारात्मक रहेको उल्लेख गर्दै आवश्यकताअनुसार क्रमशः कार्यान्वयन गर्दै जाने बताए।
पौडेलका अनुसार सूचना व्यवस्थापन, सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था तथा सेवा प्रवाहलाई सहज बनाउने विषयमा कार्यालयले निरन्तर सुधारका पहल गरिरहेको छ।
डिजिटल प्रणालीको विस्तार तथा भौतिक पूर्वाधार व्यवस्थापनका विषयहरू पनि सम्बन्धित निकायसँग समन्वय गरी अगाडि बढाइने उनले बताए । भैरहवा क्षेत्रकै प्रमुख सरकारी सेवा केन्द्रमध्ये एक मानिने मालपोत कार्यालयमा दैनिक सयौँ सेवाग्राही पुग्ने गरेका छन् ।
