© 2026
गुल्मी । स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गुल्मीको मुसिकोटमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १५० जना भन्दा बढीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् ।
शिविरमा मिर्गौला परीक्षण, रगतमा चिनीको मात्रा जाँच, रक्तचाप मापन, मुटुको धड्कन परीक्षण तथा शरीरमा अक्सिजनको मात्रा मापन लगायत सेवा निःशुल्क उपलब्ध गराइएको थियो ।
शिविरमा दन्त परीक्षण तथा उपचार समेत गरिएको थियो । परीक्षणका क्रममा दाँत सम्बन्धी समस्या देखिएका केही बिरामीको निःशुल्क दाँत निकालिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय परामर्श दिईएको लायन्स क्लव गुल्मी तम्घासका अध्यक्ष होम बहादुर पल्लीले बताए ।
स्वास्थ्य परीक्षणका क्रममा केही व्यक्तिमा आफूलाई जानकारी नभएको उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढी भएको पाइएको थियो । उनीहरूलाई मुटुरोग विशेषज्ञबाट परामर्श उपलब्ध गराउनुका साथै खानपानमा सुधार गर्न, नियमित स्वास्थ्य परीक्षण गराउन र चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सुझाव दिइएको लायन्स क्लव अफ गुल्मी रेसुङ्गाका अध्यक्ष कृष्ण खनालले जानकारी दिएका छन् ।
त्यसैगरी, मिर्गौला सम्बन्धी परीक्षण गरिएका व्यक्तिमा कुनै गम्भीर समस्या नदेखिएको लायन्स क्लव गुल्मी तम्घासका अध्यक्ष होम बहादुर पल्लीले बताए। सहभागीलाई मिर्गौला स्वस्थ राख्न अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी दिइएको थियो ।
मुसिकोट युवा क्लवको आयोजनामा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतका लायन्स क्लब अफ गुल्मी तम्घास, लायन्स क्लब अफ गुल्मी रेसुङ्गा र लियो क्लब अफ सालिमे गुल्मीको समन्वय तथा सहकार्यमा शिविर आयोजना गरिएको हो ।
उक्त शिविर सञ्चालनमा शुभलक्ष्मी स्वास्थ्य सेवा, नेसन प्याथ ल्याब र राना डेन्टल होमले प्राविधिक सहयोग गरेका थिए ।
ग्रामिण क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाउँदा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेको शिविर आयोजक संस्था मुसिकोट युवा क्लवका अध्यक्ष बषन्त अधिकारीले बताएका छन् ।