© 2026
तिनतिर भारतको बिहार र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ताका बासिन्दा फेरी भारतीय सीमा सुरक्षा बल एसएसबीको प्रताडनाबाट पीडित बन्नु परेको छ । सुस्तामा नदी नियन्त्रणको काममा भारतीय पक्षले अवरोध गरेको छ ।
नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा नदी नियन्त्रणको काम रोक्न भारतीय सीमा सुरक्षा बल एसएसबीले दबाब दिएको थियो । प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपालले भारतको भूमि समेत मिचेको बताएपछि भारत सुस्तामा अव हाउगुजी बन्ने निश्चित छ ।
त्यसै पनि सुस्ताको नेपाली भूमिमाथि गिद्धे नजर लगाएको भारतले प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि हौसिएको छ । उसको दावी अव बलियो सावित हुँदैछ । प्रधानमन्त्री स्वयंले नेपालले भारतको जमिन मिचेको वक्तव्य दिएपछि अव नेपालको सीमा विवादमाथि भारत हाबी हुने निश्चित छ । त्यसको पूर्व सङ्केत सुस्तामा भारतीय पक्षले अवरोध गरेर देखाइसकेको छ ।
सुस्ताको कुल ४० हजार ९ सय ८० हेक्टर मध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको छ भने १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोत भोग गर्न दिएको छैन ।
सुस्तावासीले जम्मा ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भूमि मात्रै जोत भोग गर्दै आएका छन् । आइतबार दुवै देशका सीमा सुरक्षा संयन्त्र बिच छलफल भएको भए पनि भारतीय पक्षले उक्त भूमि विवादित भएकाले काम नगर्न आग्रह गरेको छ । सुस्ताको विवाद अव कसरी समाधान हुन्छ भन्ने विषय अन्योलमै छ तर सुस्तावासीहरू भारतसँग कुनै पनि सर्तमा मिल्ने पक्षमा छैनन् ।
सुस्ताबासीलाई थाहा छ–उनीहरू नेपाली हुन । सुस्ता नेपालको जमिन हो तर भारतले हरेक बर्ष अतिक्रमण गर्दै नेपाली भूमि कब्जा गर्दै गएको छ । विडम्वना यो विषय छरपष्ट हुँदापनि प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिन्छन ।
कुनैदिन प्रधानमन्त्रीले नेपाल भारतको एक प्रान्त हो भनेपनि आश्चर्य नमाने हुन्छ । किनभने रास्वपाको सरकार भारतपरस्त भैसकेको छ । भारतको कुरा उसले अक्षरशः स्वीकार गर्ने अवस्थामा पुगेको छ ।
त्यसको सङ्केत रास्वपा सभापति रवि लामिछानेलाई भारतमा भैरहेको स्वागतले प्रमाणित गरेको छ । गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेपछि नारायणीले भत्काएको क्षेत्रमा तटबन्ध निर्माणको काम तिव्र गतिमा भइरहेको अवस्थामा भारतले अवरोध गर्नु चिन्ताको कुरा हो । गत वर्ष भदौमा आएको बाढी सुस्ता बस्तीमा पस्दा स्थानियले दुई दिनसम्म रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर सुस्ता बचाएका थिए । बाढीले कटान गरेको मुख्य स्थानमा तटबन्ध निर्माणको काम भइरहेको छ ।
थप जोखिम हुन सक्ने भएकाले उक्त तटबन्ध संगै जोडेर थप निर्माण थाल्दा भारतले अवरोध गरेको छ । सुस्ता बचाउन तटबन्ध गर्ने काममा समेत भारतले अवरोध गर्नु भनेको भारतको सुस्तामाथि गिद्धे नजर हो भन्दा अत्युक्ति हुँदैन ।
सुस्तामा कुनै सीमास्तम्भ छैन, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भूभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ । सुस्ताबासीले भूमि समस्या समाधानको माग गर्दै यसअघि धेरैपटक नेपाल सरकारको ध्यानार्षण गराएका थिए तर कुनै पनि सरकारले यो विषयमा चासो दिएनन् । २०४६ सालयता नेपालमा करिव दुई दर्जन सरकार बने ।
सुस्ताका नागरिक आफ्नो देशको भूमि बचाउ भन्दै सरकारको ध्यानाकर्षण गराईरहे तर कुनै पनि सरकारले सुस्ताको दुःख र पीडा सम्बोधनको प्रयास गरेनन् । सीमा समस्या समाधान नहुँदा सुस्ताबासी भारतीय सुरक्षाकर्मीको दमन र हेपाइ सहेर बस्नु परेको छ ।
धेरै वर्षदेखि आफ्नो भूमि बचाउन लडिरहेका सुस्तावासी अहिले निरास हुनुपरेको छ । सुस्ताको सवै जमिन नेपालकै हो तर भारतले अतिक्रमण गरिसक्दा पनि नेपाल सरकार केही बोल्न सक्दैन ।
पछिल्लोपटक सुस्ताको घाउमाथि सरकार आफैले नुन चुक छर्किने काम गरेको छ । सुस्ताका नागरिकका लागि मात्रै होइन, यो आम नेपाली जनताका लागि पनि दुःखको कुरा हो ।