Butwal Today

सुर्तीजन्य पदार्थ नियन्त्रण गर

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

‘निकोटिन र सुर्तीजन्य पदार्थको प्रयोग रोकौँ’ भन्ने नाराका साथ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आइतबार मनाइएको छ ।

नेपालमा दिवस मनाउनु परम्पराजस्तै भैसकेको छ । दिवसको मूल उद्देश्य र त्यसको प्रतिफलको विषयमा भने खासै अनुगमन हुने गरेको छैन । आइतबार यो दिवस पनि औपचारिकताकै लागि मनाइएको अनुभूति भएको छ । किनभने दिवसमा औपचारिक कार्यक्रम खासै भएको सुनिएन ।

उही गोष्ठी र सेमीनारबाट उपलब्धि खोज्ने बानीको विकास भएको छ । त्यसो त नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार दुई सय जनाको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा निकोटिनका नयाँ उत्पादनतर्फ युवापुस्ता फस्दै गएको छ । सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।

सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढाएको छ । यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठुलो आर्थिक तथा सामाजिक भार थपिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर एक अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन् । सुर्तीकै कारण विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यद्यपि विश्व स्वास्थ्य तथ्याङ्क २०२६ को प्रतिवेदनले विश्वभर सुर्तीजन्य पदार्थको प्रयोग घट्दो क्रममा रहेको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१० मा २६ दशमलव २ प्रतिशत रहेको विश्वव्यापी सुर्ती सेवन दर सन् २०२४ मा घटेर १९ दशमलव ५ प्रतिशतमा झरेको छ ।

यद्यपि यो प्रतिवेदनको आधिकारिक विश्वास गरिहाल्ने अवस्था भने छैन । सुर्ती सेवनको तथ्याङ्क घटिरहेको भए पनि मृत्यु भने बढिरहेको छ । यो चिन्ताको कुरा हो । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्दछ ।

सुर्तीजन्य पदार्थको सबैभन्दा ठुलो असर क्यान्सर हो । सुर्ती सेवन गर्नेमध्ये ८० प्रतिशतलाई क्यान्सर हुने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थका सेवन विश्वकै लागि ठुलो चुनौती वनेको छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धुमपान रहित दिवस मनाउन विश्वकै ध्यानाकर्षण गरिएको थियो । चिकित्सकहरूका अनुसार चुरोट, सुर्ती, गुट्खाको सेवनले फोक्सो र कलेजो बिग्रने गर्दछ ।

पछिल्लो समयमा सार्वजनिक स्थलमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान आएपनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ ।

नेपाल सरकारले आजभन्दा १५ बर्षअघि सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि कानुन बनाएको थियो । तर, सरकारको यो योजना कागजमै सीमित भएको देखिएको छ । रात रहे अग्राख पलाए भनेजस्तै ढिलाई भैरहँदा सरकारको योजना कार्यान्वयनमा आउन सकेन् । सरकारले ऐन त बनायो तर ऐन पूर्णतया लागू हुन सकेन ।

भोलिको दिनमा सरकारले १५ बर्ष अघि ल्याएको ऐन कार्यान्वयन गर्नेतर्फ ध्यान जाओस् । स्वास्थ्य जस्तो महत्वपूर्ण एवं संवेदनशील विषयमा नागरिकले समेत चासो र चिन्ता गर्नु जरुरी छ । नागरिकको सकृय सहभागिताले मात्र यो योजना सफल हुने निश्चित छ ।

बर्षमा एक दिन आउने दिवसले चेतनाको काम मात्रै गर्ने हो, नियन्त्रणमा प्रभावकारिता हुन सक्दैन । सरकारले यो विषयमा नजरअन्दाज गर्नु हुँदैन । दिवसले भनेजस्तै निकोटिनजन्य पदार्थको प्रयोगमा रोक लगाउनेतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?