Butwal Today

‘विपद् न्यूनीकरणको छैन तयारी’

१२ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बालेन नेतृत्वको सरकारले सुकुम्वासीलाई विस्थापित र बिचल्ली बनाउनेतर्फ ध्यान दिँदा यो वर्षको विपद्का लागि गर्नुपर्ने तयारीमा ढिलाइ भएको छ ।

यद्यपि यो वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा थोरै वर्षाको प्रक्षेपण गरिएको छ तर मौसम परिवर्तनका कारण हुने अति वृष्टितर्फ अहिलेदेखि नै सोचिएन भने त्यसले ठुलो क्षति निम्त्याउने छ । मौसमविद्का अनुसार देशका धेरै ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

यही अवधिमा नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा हुने गर्दछ । यो वर्ष मनसुनमा औसतभन्दा कम पानी पर्ने भए पनि प्राकृतिक प्रकोपको जोखिमलाई कम आँक्नु मूर्खता हुनेछ । पानी कम परेपनि भीषण बर्षाको संभावना भने कायमै छ ।

तसर्थ धेरै पानी पर्दा हिमाली र पहाडी भेगमा पहिरो जाने तथा तराईमा बाढीको उच्च जोखिम हुने मौसमबीदहरुले चेतावनी दिएका छन् । सरकारले हरेक वर्ष यही बेला विपदबाट जोगिन पूर्व तयारीको काम गथ्र्यो तर बालेन सरकारले विपद जोखिम न्यूनिकरणमा अहिलेसम्म कुनै छनकसम्म दिएको छैन् ।

बर्षा धेरै भए विपद्का घटना बढ्ने जोखिम रहँदा प्रभावित क्षेत्रमा पर्न सक्ने असर र हुनसक्ने क्षतिको आंकलन गरेर पूर्व तयारीमा जुट्ने बेला भईसकेको छ । यसअघि मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्व तयारी गर्न नसक्दा प्राकृतिक विपद्का घटनाका कारण धेरै जनधनको क्षति भएको विर्सन सकिदैन् । अहिलेसम्म वर्षायाममा हुन सक्ने विपद्को लागि पूर्व तयारी केही भएको छैन् ।

मनसुनी प्रकोपको पूर्व तयारी गरेर विपद् सामना गर्न संघीय, प्रदेश र पालिकाहरुले तयारी गर्नुपर्ने हो । तर, अहिलेसम्मको तीन तहमध्ये कुनैपनि सरकारले त्यसतर्फ ध्यान दिएका छैनन् । त्यसो त अहिले बिपदजन्य घटनाको पूर्वानुमान धेरै मिल्न थालेको छ ।

त्यसकारण बाढी, पहिरो लगायतको प्राकृतिक प्रकोपबाट बच्न धेरै हदसम्म सजिलो पनि छ तर पूर्व तयारी गरिएन भने जोखिम कायमै रहने हुनाले प्राकृतिक जोखिम पूर्व तयारीमा सरकारले समयमै ध्यान दिनु जरुरी छ । विगतमा पनि विपतजन्य घटनाबाट हुनसक्ने क्षति कम गर्न पूर्व सूचना प्रणालीको अभ्यासले सहयोग पु¥याएको हो ।

त्यसैले मौसम पूर्वानुमान विश्लेषण अध्ययन गरी जोखिम क्षेत्रका पालिकालाई सहभागी गराएर सूचना प्रवाहको दायरा बढाउँदै लग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको योजनामाथि तीनै तहका सरकारले होस्टेमा हैंसे गर्नु आवश्यक छ ।

त्यसैपनि नेपालमा हरेक वर्ष बाढी पहिरोले ठुलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नयाँ कुरा होइन । यो वर्ष पनि बाढी पहिरोले नोक्सान गर्न थालिसकेको पहाडी क्षेत्रमा केही दिनअघि परेको भीषण बर्षा उदाहरण छ । पूर्वी पहाडी जिल्लामा प्रकोपजन्य जोखिम सुरु भैसकेको छ  ।

प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरुपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरुपमा न्यूनीकरण गर्दै जानुपर्ने अवको आवश्यकता हो ।

बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरुलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरु (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरु) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरुप आवश्यक पूर्व तयारी एवं पूर्व सावधानीसहितको कार्ययोजना तत्काल बनाउनेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

उद्धार लगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरु तयारी अवस्थामा राख्नेतर्फ अहिलेदेखि तयारी गरियोस् । प्राकृतिक प्रकोपवाट हुने क्षति न्यूनीकरणको लागि अहिलेदेखि नै अपनाउनुपर्ने पूर्व तयारीमा ध्यान दिन ढिलाइ गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?