© 2026
विगत केही दिनदेखि अर्थात् जेठ महिना सुरु भएदेखि अत्यधिक मात्रामा बढ्दै गएको गर्मीको कारण जनजीवन निकै प्रभावित बनिरहेको छ ।
विभिन्न समाचारका माध्यमहरूले पनि तिन दिनलाई लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा तापक्रम ४२ डिग्री सम्म पुग्न सक्ने अनुमानको साथमा सर्वसाधारणलाई विशेष सावधानी अपनाउने अनुरोधका समाचारहरू प्रसारण भएका र गर्मी अत्यधिक बढेको हुनाले उच्च गर्मी र लु बाट जोगिन निम्न अनुसारका उपायहरू अपनाउन आमजनमानसलाई जानकारीको साथमा अनुरोध छ ।
१. तातो हावा लु बाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने ,बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाँउडिने, चक्कर आउने, बेहोस हुने मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा रहि आफ्नो समस्याको समाधानको लागी थप सल्लाह सुझाव लिने गर्नुपर्दछ ।
२. उच्च गर्मी तापक्रम र लु बाट बच्नको लागी अत्यधिक गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्नुपर्दछ ।
३. नियमित रूपमा पानी तथा झोलिलो पदार्थ फलफूलको रस, जुस तथा सर्बत प्रशस्त मात्रामा पिउनु पर्दछ ।
४. खेतबारीमा तथा अन्य मेलापातका कामहरू सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नुपर्दछ ।
५. सम्भव भएसम्म रुखको छहारी मुनि, शीतल ठाउँमा, चिसो ठाउँमा वा पङ्खा भएको ठाउँमा बस्नुपर्दछ ।
६. उच्च गर्मी तापक्रम र लु बाट जोगिनको लागी चिसो पानीले नुहाउने, आवश्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ ।
७. उच्च गर्मी तापक्रम र लु बाट बच्नको लागी सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने, यदि बाहिर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सूतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने ।
८. मदिरा सेवन, चिया कफी सोडा जस्ता पेय पदार्थ, चिनीको मात्रा बढी भएका झोल पदार्थ सकभर प्रयोग नगर्ने ।
९. लामो समयसम्म फ्रिजमा राखिएका खाद्यपदार्थहरू, धेरै चिसो बनाएर राखेको पानीका कोकफेन्टाहरूको प्रयोग पनि सकभर नगर्ने ।
१०. गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दालभात रोटी तरकारी जस्ता खाद्यपदार्थहरू साँझ बिहान प्रयोग नगर्ने जस्ता सावधानी अपनायौँ भने उच्च गर्मी तापक्रम वा लु लाग्ने समस्याबाट घरायसी तहबाटै बच्न वा जोगिन सकिन्छ ।