Butwal Today

विश्व जैविक विविधता दिवस

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

‘प्रकृति संरक्षणमा ढिलाइ नगरौँ’ भन्ने नाराका साथ आज जैविक विविधता दिवस मनाईदैछ । हरेक वर्षको मई २२ अर्थात् अर्थात् जेठ ८ गते यो दिवस विश्व भरी मनाइन्छ ।

जैविक विविधता भनेको हाम्रो वरपरको प्रकृति हो जसको भूमिका पृथ्वी सुरक्षित राख्न महत्त्वपूर्ण छ । तर, पछिल्लो समय यो दिवस पनि केवल औपचारिकता बन्दै गएको छ । केही सीमित स्थानमा मनाइने दिवसले दिने सन्देश आम जनसमुदायसम्म प्रवाह हुन सकेको छैन ।

यद्यपि जैविक विविधताको संरक्षण, विकास र यसको दिगो उपयोगिताका लागि विभिन्न प्रयासहरू भइरहेका छन् । तर आज विश्व जैविक विविधताको संरक्षण गर्नेतर्फ अग्रसर नहुँदा अनेक खाले वातावरणीय विकृति र विसङ्गति बढेको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९३ मा ब्राजिलको रियो दि जेनेरियो सहरमा भएको जैविक विविधता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनले जैविक विविधता संरक्षणका लागि धेरै प्रयासको आरम्भ गरेको सर्वविदीत छ ।

कृषि, वन र सिमसार क्षेत्र जैविक विविधताका भण्डार हुन् । नेपालको सन्दर्भमा कुनैपनि विकास निर्माणको काम सुरु गर्नु पहिले त्यसबाट स्थानीय वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने र संरक्षित क्षेत्रबाट प्राप्त हुने आम्दानी स्थानीय समुदायको सामुदायिक विकासका लागि खर्च गर्न पाउने कानुनी व्यवस्था जैविक विविधता महासन्धिका देन हुन् ।

यो महासन्धिले जैविक विविधताका स्रोतमाथि सम्बन्धित राष्ट्रको सार्वभौम अधिकार रहने सुनिश्चित गरेको छ । नेपाल त्यसैपनि जैविक विविधताको क्षेत्रमा सम्पन्न राष्ट्र हो । तर आज जैविक विविधता संरक्षणमा भन्दापनि विनासतर्फ ध्यान बढिरहेको छ । विश्वका ठूला मुलुकको होडबाजीले कार्बन उत्सर्जनमा नियन्त्रणभन्दा बढी जोड दिएको छ ।

जसका कारण विश्व तापमान प्रत्येक वर्ष शून्य दशमलव शून्य एक प्रतिशतको दरले बढेको छ । जैविक विविधता संरक्षणका लागि स्थानीय तहले समेत कानुन बनाई लागू गर्न सक्ने संवैधानिक व्यवस्था छ । तैपनि जैविक विविधताको धेरै आयाममाथि खासै छलफल हुन सकेको छैन ।

स्थानीय रैथाने बालीनाली र घरपालुवा पशुपन्छी समेत जैविक विविधताकै महत्त्वपूर्ण अंग हुन । तीनको पनि संरक्षण हुन सकेको छैन । नेपालमा राष्ट्रिय निकुञ्ज, आरक्ष र प्राकृतिक स्रोतको दिगो उपयोगमा ठूलो परिवर्तन आएको छ ।

नेपालमा यस्ता संरक्षित क्षेत्र व्यवस्थापनको जिम्मेवारी गैरसरकारी संस्था र स्थानीय समुदायलाई समेत दिएर जैविक विविधता संरक्षणको दायरालाई अझै फराकिलो बनाउनु जरुरी छ । आगामी दिनमा पनि नेपालको जैविक विविधता संरक्षणको अभियानलाई थप प्रभावकारी वनाउनेतर्फ तिनै तहका सरकार, संरक्षणको क्षेत्रमा कृयाशील संस्थाहरूको सामूहिक प्रतिवद्धता र सहकार्य झनै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय विश्वका लागि तापमान बृद्धि मूख्य चुनौति बनिरहेको छ । तापमान बृद्धिको असर जैविक विविधतामाथि परिरहेको छ । यद्यपि नेपालको जैविक विविधता अहिलेमात्रै होइन, धेरै पहिलेदेखि संकटमा पर्दै आएको छ ।

जैविक विविधतामा धनी राष्ट्र भएरपनि नेपालले अपेक्षा गरे अनुसार संरक्षणमा ध्यान दिन सकेको छैन । आगामी दिनमा यसको विकासमा नेपाल र सम्वन्धित राष्ट्रहरूले योगदान गर्न सके निश्चित रूपमा विविधताको धनी देश नेपाल सम्मृद्धितर्फको यात्रामा अघि बढ्न सक्दछ ।

यस विषयमा नेपाल सरकारको गंभीर ध्यानाकर्षण हुनैपर्दछ । नेपालको संविधानले जैविक विविधता संरक्षणको कामलाई संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको सूचीमा राखेको छ ।

त्यसैले जैविक विविधताको संरक्षणका काममा तीनै तहका सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । अव दिवस मनाएर मात्रै होइन, साँचो अर्थमा काम गरेरै जैविक विविधता संरक्षणमा जोड दिने समय आएको छ ।

यो दिवसको नाराले भनेजस्तै अहिलेदेखि नै प्रकृति संरक्षणको विषयमा सोचिएन भने भोलिको पुस्ताले ठूलो चुनौतिको सामना गर्नुपर्नेछ । तसर्थ अहिलेदेखि नै जैविक विविधता संरक्षणको विषयमा ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?