© 2026
काठमाडौँ । सांसदहरूले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था तथा मल, बीउको प्रबन्ध, करको दायरा वृद्धि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकृष्ट गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सदरदभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरू प्रभावित हुने अवस्था आउन सक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
“खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ, कुलो सुक्नेछ, तराईमा लु चल्नेछ, वनमा डढेलो लाग्नेछ, जनताको भान्छामा प्रत्यक्ष असर पर्नेछ”, उनले भने, “नेपालको कृषि आकाशे पानीको भरमा चलिरहेको छ, असार÷साउनमा पानी नपरे खेत बाँझै रहनेछ, यसको सिधा असर अर्थतन्त्रमा पर्नेछ, यसतर्फ सरकारको ध्यान जाओस् ।”
नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्कीले करको दर बढाउने मात्रै नभई करको दायरा वृद्धि गरी अर्थतन्त्रलाई फराकिलो बनाउन सुझाव दिए । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, विकास निर्माणलाई दिगो बनाउन र पर्यटन प्रवर्द्धन गर्न माग गरे ।
रास्वपा सांसद हरि ढकालले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कञ्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराए । सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुम्वासी, श्रमिक, मजदुरका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकृष्ट गर्दै उनले सरकारले जनप्रतिनिधिका अगाडि झुट बोल्न नहुने बताए ।
सोही पार्टीका सांसद उत्तमप्रसाद पौडेलले डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । रास्वपा सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिक र कर्मचारीले १४ महिनादेखि पारिश्रमिक पाउन नसकेको जानकारी गराउँदै सोसम्बन्धी समस्या समाधान गर्न माग गरे ।
रास्वपा सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तथा बाँदर आतङ्क न्यूनीकरण गर्न अदुवा, बेसारलगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताइन। सोही पार्टीका सांसद प्रेमलाल चौधरीले नेपालको चिया भारत निर्यातमा देखिएका समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारलाई सुझाव दिइन ।
रास्वपा सांसद रवीन्द्र पटेलले मधेस प्रदेशमा कमिसनको आधारमा विकास बजेट बिक्री हुने गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल अनुसन्धान गर्नुपर्ने बताए ।
रास्वपा सांसद पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेल्वे सुविधाको पहुँचका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त पार्टीका सांसद अमरकान्त चौधरीले कृषिजन्य उत्पादनको बजारीकरण तथा मल बिउको अभावसँग किसान जुधिरहेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।