© 2026
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताको कार्यान्वयनमार्फत स्थानीय तहको सबलीकरण गर्न र ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतङ्कसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग गरेका छन् ।
आजको बैठकको विशेष समयमा सांसदहरूले ट्याक्सीको ‘नम्बरप्लेट’ वितरणमा भइरहेको अनियमितता रोक्न, भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए ।
श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले भूतपूर्व बेलायती गोर्खा सैनिकका सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिकता दिन माग गरे । “वर्षौँदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गरिदिन माग गर्दछु”, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुश्बु ओलीले केन्द्रलाई बलियो बनाउने र स्थानीय तहलाई कमजोर बनाउने गरी सरकार अघि बढ्न नहुने धारणा राखिन । वित्तीय समानीकरण अनुदानलाई खर्च कटौती गर्ने सजिलो शीर्षकका रूपमा नहेर्न उनले आग्रह गरिन । “यदि सरकार वास्तवमा जनताको आवाज प्रतिनिधित्व गर्ने र वित्त सुशासन दिने दाबी गर्छ भने सबैभन्दा पहिलो वित्तीय सङ्घीयताको सम्मान गर्नुपर्छ”, उनले भनिन् ।
स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतङ्क रोक्ने प्रविधिको विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको प्रयास गरेको जानकारी दिँदै प्रविधि विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराए । “बाँदर भगाउने प्रविधि विश्वभर अझै पत्ता लागेको छैन, अनुसन्धानका लागि खर्च छुट्टाउनुपर्छ, बाँदर आतङ्क न्यूनीकरण गर्न सरकारले समिति गठन गर्न लागेको सुनेको छु, त्यो टिममा मलाई पनि राख्न भनेको छु, संसद्मा बोलेर मात्रै त्यस खालको आतङ्क हट्ने छैन”, उनले भने ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले आजको सदनका आकस्मिक समयमा सांसदहरू उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराए ।