Butwal Today

तानसेन संरक्षणमा ढिलाइ किन ?

६ जेष्ठ २०८३, बुधबार
अ+
अ-

पाल्पाको सदरमुकाम तानसेनलाई थोरै मात्रै संरक्षण र सम्बद्र्धन गर्ने हो भने बर्सेनि करोडौँ विदेशी रुपैयाँ भित्राउन सकिन्छ ।

तानसेनको भौगोलिक पहिचान, बनावट र यहाँ रहेका ऐतिहासिक सम्पदाको मोहकताबाट प्रभावित नहुने स्वदेशी तथा विदेशी सायदै होलान् । तर, वर्षौँदेखि तानसेन अभिभावकविहीन जस्तै छ । तानसेनभित्र रहेका सम्पदा जुन रफ्तारमा संरक्षण हुनुपर्ने हो त्यसमा लापरबाही गरिएको छ ।

नेपालमा त्यस्तो एक मात्रै सहर छ– जसले पहाडकी रानीको उपमा पाएको छ । जसरी भारतमा दार्जिलिङलाई पहाडकी रानी भनिन्छ, नेपालमा त्यसको उपनाम तानसेनले पाएको छ । तानसेन नगर क्षेत्रमा धेरै ऐतिहासिक तथा पर्यटकीय सम्पदा छन् ।

दार्जिलिङको ऐतिहासिक भूगोल तानसेनसँग मिल्दोजुल्दो भएकोले पनि तानसेनलाई नेपालको दार्जिलिङ भनिएको हो । तानसेनले अथाह पर्यटनको संभावना बोकेको छ ।

तानसेनलाई त्यस्तो शौभाग्य प्राप्त भएको छ– जसको थोरै मात्रै पनि संरक्षण गर्न सके तानसेनमात्रै होइन, सिंगो पाल्पाको पर्यटन विकासमा टेवा पुग्छ । तर, विडम्वना यति ठूलो र महत्वपूर्ण सम्पदा संरक्षणमा भने प्रदेश र संघीय सरकारले वेवास्ता गर्दै आएका छन् ।

प्राकृतिकरूपमा सुसज्जित तानसेन अहिलेको मात्र होइन आउने पुस्ता पुस्तालाई पनि ऐतिहासिक शहरका रहने कुरामा कुनै विमति छैन । किनभने तानसेन आफै प्रकृतिमय छ । अरू स्थानलाई प्रकृतिमय बनाउन ठूलो लगानी गरिएको हुन्छ तर तानसेनले आफै प्रकृति बोलिरहेको छ । तानसेनमा असंख्य ऐतिहासिक स्थल रहेका छन् ।

रानीमहल तानसेनको ऐतिहासिक पहिचान र गरिमा हो । तर, यो क्षेत्र अहिले संरक्षणको अभावमा छ । हरेक दिन सयौं आन्तरिक तथा बाह्य पर्यटक रानीमहल पुग्छन । तर, त्यहाँ पूर्वाधारको ठूलो अभाव छ । जसका कारण पर्यटकहरूले निरास हुँदै फर्किनुपर्ने बाध्यता छ ।

पैसा खर्च गरेर पनि एकरात राम्रोसंग बिताउने अवस्था छैन् । तानसेनका ऐतिहासिक स्थानको संरक्षण, पुराना मठ मन्दिरको जीर्णोद्धार, तानसेन दरबारको संरक्षण, नजिकै रहेको श्रीनगर, त्यसैगरी अमरनारायण मन्दिर, रणउज्जेश्वरी मन्दिरसँगै तानसेनको भूगोलसंग जोडिएको भैरवस्थान लगायतका यस्ता ऐतिहासिक र पर्यटकीय स्थल हुन जुन तानसेनलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिन्छ । त्यसो त यी सम्पदा सदियौं पुराना सम्पदा हुन् ।

अव यिनको संरक्षण पनि ठोस र योजनाबद्ध रूपमा हुनु जरुरी छ । तानसेनको आधुनिक विकास गर्ने हो भने पर्यटक आगमनबाट मात्रै बार्षिक करोडौँ आर्जन गर्न सकिन्छ ।

अव तानसेनको विकासमा तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता छ । किनभने तानसेनको पुरानो संरचना जिर्णाद्वारका लागि मात्रै पनि करोडौँ खर्च हुन्छ । त्यो अवस्थामा पालिका र प्रदेशको बजेटले मात्रै भ्याउन सक्ने अवस्था रहन्न ।

अत्यन्त खुसीको कुरा के हो भने तानसेनलाई सबै कुरा प्रकृतिले निःशुल्क उपहार दिएको छ । रानीमहललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने र त्यहाँ आउने पर्यटकलाई खान बस्न राम्रो रिसोर्ट र होटलको व्यवस्था गर्ने हो भनेमात्रै पनि तानसेन साँच्चै दार्जिलिङ मात्रै होइन, पहाडकी रानीको संज्ञा दिए फरक पर्दैन । तानसेनका विभिन्न स्थलमा आन्तरिक पर्यटकमात्र होईन बाह्य पर्यटकको समेत ठूलो उपस्थिति रहने गरेको छ ।

यही छिमेकी मुलुक भारतको उत्तर प्रदेशका ३५ करोड जनतालाई रानीमहल र भैरवनाथ मन्दिरको विषयमा जानकारी दिन सक्ने हो भने नेपालले बार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्न सक्छ । त्यसका अलावा तानसेनमा सयौं बर्ष पुराना मठ मन्दिर छन् ।

अंग्रेज पालाका ती ऐतिहासिक संरचनाको विषय अव वाहिर ल्याउनु जरुरी छ । अव तानसेनलाई उठाउने अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक छ । तानसेनको साँच्चीकै विकास गर्ने हो भने राज्यका तीनै तहको ध्यान जाओस् । ऐतिहासिक सम्पदाको संरक्षणमा अब ढिलाइ नगरौं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?