Butwal Today

पाल्पा पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्यो 

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

पाल्पा ।  पाल्पालाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, स्वास्थ्य मन्त्री खेमबहादुर सारूले संयुक्त रूपमा पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेका हुन् ।

पाल्पाको घरधुरी सर्भेक्षणमा २ हजार १ सय ३९ जना महिलाले प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गराएकोमा, स्वास्थ्य संस्थामा २ हजार २ सय ६२ जना महिलाले प्रसूति गराएको, घरमा प्रसूति गराउने गर्भवती महिलाको सङ्ख्या शून्य रहेको, बाटोमा प्रसूति गराएको सङ्ख्या शून्य रहेको, अन्य स्थानमा प्रसूति गराएको सङ्ख्या शून्य रहेको र प्रोटोकल अनुसार ३ पटक प्रसूति जाँच गराएको महिलाको सङ्ख्या २ हजार २ सय ७ रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।

पूर्वखोला गाउँपालिकाले पहिलो पटक २०७६ सालमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरेपछि अन्य पालिकाहरूले पनि अभियानलाई तीव्रता दिएका थिए ।  घोषणा सभामा  मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा मात्र नभई पाल्पा जिल्ला नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला भएको बताए ।

सभामुख तुलाराम घर्तिमगरले घोषणा गरिएका कार्यक्रमलाई दिगोपना प्राथमिकतामा राख्नु पर्ने बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले प्रदेश भरीका १४ वटा प्रमुख अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उपकरण, जनशक्ति सहितको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

सोही अवसरमा मंगलबार नै पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा समेत गरिएको छ । कार्यक्रममा वरिष्ठ खोप फोकल पर्सन विश्वनाथ न्यौपाने, खोप सुपरभाइजर अधिकृत देवेन्द्र गुरुङ र पब्लिक हेल्थ नर्स शान्ति भण्डारीलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा राजनीतिक दलको तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति सुमन गैरे, गाउँपालिकाको तर्फबाट माथा गढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, नगरपालिकाको तर्फ तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले सबैको  सहयोग सहकार्य,समन्वय बाट नै  पाल्पालाई नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनाउन सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?