Butwal Today

‘आरोग्य वर्ष २०२७’ को पूर्व तयारीका लागि साझा समझदारीमा जोड

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबिच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ ।

आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित ‘आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्व तयारी विमर्श’मा सहभागी वक्ताहरूले सो आवश्यकता औँल्याएका हुन ।

कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष २०२७, आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्य योजना (सन् २०२६–२०३०)को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भयो ।

सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, पर्यटन तथा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको सो संवाद कार्यक्रममा आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) को प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, निकाय र तीनै तहका सरकारको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले नेपालमा विद्यमान प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक परम्परा तथा विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताए । योग, ध्यान, अध्यात्म र आरोग्यसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक आधार प्रस्तुत गर्दै यसलाई अर्थतन्त्रसँग जोड्नुपर्ने उनको धारणा थियो । उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको विषयका रूपमा नभई मानसिक, सामाजिक र वातावरणीय आयामसँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक भानु गुरुदेवले विश्व पर्यटन क्रमशः ‘वेलनेस टुरिजम’तर्फ रूपान्तरण भइरहेको बताउँदै त्यसका लागि नेपालमा भएका सम्भावनामा काम गर्नुपर्ने बताए । स्वास्थ्य, ट्रेकिङ, धार्मिक, सांस्कृतिक, योग, ध्यान, प्राकृतिक उपचारलगायत विभिन्न अवयव आरोग्य पर्यटनभित्र समिटिने उल्लेख गर्दै उनले ‘वेलनेस टुरिस्ट’हरू अरू पर्यटकभन्दा बढी बस्ने र खर्च गर्ने अध्ययनहरूले देखाएको बताए ।

आरोग्य पर्यटनलाई नेपालको आर्थिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले गण्डकी र लुम्बिनी प्रदेशलाई नमूना आरोग्य प्रदेशका रूपमा विकास गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे । जीवन विज्ञानका अर्का संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैली, व्यवहार र सामाजिक अभ्याससँग जोडेर अघि बढाउनुपर्ने बताउँदै ध्यानको अभ्यास गराए ।

सो अवसरमा जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजक पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले आरोग्य पर्यटन र आरोग्य वर्ष सफल कार्यान्वयनका लागि अवधारणापत्र प्रस्तुत गरेका थिए । उनले केन्द्रले आगामी दिनमा आरोग्य पर्यटन, मानसिक स्वास्थ्य, योग–ध्यान, प्राकृतिक उपचार र समग्र आरोग्यसम्बन्धी नीति संवाद तथा अध्ययनलाई निरन्तरता दिने उल्लेख गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्र मिश्र, परराष्ट्र मन्त्रालयका सहसचिव मनिरत्न शर्मा, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको रणनीतिका विषयमा सरोकारवाला मन्त्रालय र निजी क्षेत्रको भूमिकाका बारेमा प्रकाश पारे ।

सोही अवधारणाको आधारमा भएको संवाद कार्यक्रमले आरोग्य वर्ष २०२७ सफल बनाउन बहुपक्षीय सहकार्य, नीति कार्यान्वयनमा तीव्रता र अन्तरराष्ट्रियस्तरमा नेपालको आरोग्य पहिचान दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?