Butwal Today

प्रधानमन्त्रीको पोष्टपछि बुटवलमा डिडिसीको बिक्री कक्षमा चहलपहल

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बुटवल । बुटवलको औद्योगिक क्षेत्रभित्र दुग्ध विकास संस्थान डिडिसी अन्तर्गतको लुम्बिनी दुग्ध वितरण आयोजना रहेको छ । सडक किनारमा डिडिसीको बिक्री कक्ष छ । गर्मीका कारण राजमार्गमा यात्रा गर्नेहरु फ्रेस मिल्क, दही, मही, आइसक्रिम खान बिक्री कक्षमा पुग्छन्।

दुई दिन यता यो वितरण कक्षमा ग्राहकहरुको चहलपहल अझै बढेको छ । शनिवार प्रधानमन्त्री बालेन्द्र शाहले याक चिज सहितको फोटो पोष्ट गरेपछि डिडिसी र याक चिज प्रतिको जनचासो एक्कासी बढेको हो ।

आइतबार साँझ बिक्री कक्षका कर्मचारी धुरन महरालाई डिडिसीका उत्पादन बिक्री गर्न भ्याइ नभ्याइ थियो । बिक्री कक्षमा केही सामान किन्न र कतिपयले याक चिज हेर्न मात्र आउने गरको महराले सुनाए ।

‘यहाँ दही, महि खान भनेर आउनुहुन्छ, याक चिजको फोटो खिचेर जानुहुन्छ’-उनले भने-‘केही ग्राहक भने याक चिज किन्न भनेरै आउँछन् । पहिले फाट्ट फुट्ट बिक्री हुन्थ्यो । आज ३ किलो जति विक्रि भयो ।’

याक चिजको माग बढेको भएपनि आफूहरुसँग स्टक सकिएर फेरि मगाएको महराले बताए। डिडिसीका उत्पादन औद्योगिक क्षेत्रको बाहेक बुटवल बजारमा पनि जाने गर्दछ।

बुटवलकै तिनकुनेमा सार्वजनिक निजी साझेदारीमा डिडिसीले बिक्री कक्ष स्थापना गरेको छ । बिक्री कक्षका वितरक विष्णु न्यौपानले ग्राहकको चहलपहल बढ्नुका साथै फोन समेत आउन थालेको सुनाए ।

‘यहाँबाट अरु पसलहरुमा पनि उत्पादन पठाउँछौं। डिडिसीको सामान हामीलाई पनि उपलब्ध गराइदिनपर्यो भनेर फोन आइरहेको छ । याक चिजको माग बढेको छ’-उनले भने-‘याक चिज पहिले एकदमै कम मात्र किन्न आउँथे । शनिवार यता १०–१२ किलो चिज बिक्री भइसक्यो । हामीसँग ठूलो साइजको चिज मात्र छ । सानो साइजको पनि भएको भए अझ धेरै बिक्थ्यो होला ।’

बिक्री कक्षमा आएका धेरैले याक चिजबारे चासो राख्ने गरेको केहीले किन्ने र कतिपयले हेरेर मात्र जाने गरेको न्यौपानेले जानकारी दिए ।
डिडिसी अन्तर्गत लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्यालले केही दिन यता डिडिसीका उत्पादन प्रति चासो र बिक्री पनि बढेको सुनाए ।

‘दुई तिन दिन यता १५ प्रतिसत जतिले बिक्री बढेको हामीले महसुस गरेका छौं’-उनले भने-‘प्रधानमन्त्रीज्युको पोष्टले पनि  बजारीकरणमा पनि सघाउ पुग्यो । अहिले याक चिजको खोजी पनि भइरहेको छ ।’

बुटवलको भाटभटेनी लगायत डिपार्टमेन्ट स्टोरहरुबाट पनि याक चिजको माग भइरहेको छ । याक चिज हिमाली भेगमा तयार हुने गर्दछ । डिडिसीको काठमाडौं वितरण आयोजना मार्फत याक चिज बुटवलको वितरण कक्षमा आउने गर्दछ । प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक पोष्टपछि याक चिज सकिएको र पुन: काठमाडौंबाट मगाएको अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?