© 2026
छाडा चौपायाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बेला बुटवल उपमहानगरपालिकाले थालेको अभियान अत्यन्त सकारात्मक छ ।
छाडा छोडिएका गाईबस्तुका कारण दुर्घटना बढेको र पैदल यात्रीले समेत बेलाबेलामा सास्ती पाउँदै आएको भन्दै उपमहानगरले व्यवस्थापन गर्न सुरु गरेपछि नगर बासीले उक्त कदमको स्वागत र प्रशंसा गरेका छन् ।
सडकमा छाडा चौपाया बढ्दै जाँदा दुर्घटना बढ्नुका साथै सडकमा हिँड्न समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्थामा सुरु भएको पाँच दिने अभियानले बुटवल सुन्दरीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । बुटवललाई व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन हुनु जरुरी थियो ।
उपमहानगरले दुई वर्षअघि पनि छाडा चौपाया गौशालामा राख्ने अभियान सुरु गरेको थियो तर पशु पालक किसानले गाईले दुध दिँदासम्म दुहुने र दुध दिन छोडेपछि बाच्छाबाच्छी सहित सडकमा लगेर छोड्ने गर्दा यो कहिल्यै समाधान नहुने रोग बनेको छ ।
बुटवलका विभिन्न सडकको बीच भागमा छाडा पशु चौपाया बस्ने, गोरु र साँढेहरू जुध्दा पैदल यात्रीले ज्यानै जोगाउन समस्या पर्ने अवस्था आएको छ । पछिल्लोसमय चौपायाकै कारण ठूलो दुर्घटनाको जोखिम समेत बढेकोले यसको व्यवस्थापन जरुरी थियो ।
बुटवल उपमहानगरले नगरबासीको माग र जोखिमको अवस्था देखेर व्यवस्थापन सुरु गरेको छ, यसलाई निरन्तरता दिनुपर्दछ । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको गौशालामा केही मात्रामा गाई, गोरु, बाच्छाबाच्छी राख्न सकिने अबस्था छ । तर, समयक्रमसंगै यो गौशाला सानो हुने हुँदै गएकोले अझै ठूलो गौशाला बनाउनु पर्ने खाँचो छ ।
बुटवलमा छिमेकी पालिकाबाट गाई गोरु अत्यधिक मात्रामा आउने र बजारमा आएपछि नफर्किने समस्या देखिएको छ भने भारतबाट चोरी निकासीमार्फत आउने र यत्तिकै सडकमा छाडेर जाने पनि समस्या देखिएको छ ।
यसले पनि छाडा चौपाया व्यवस्थापनमा चुनौति सिर्जना गरेको छ । बिगतमा यो समस्या समाधान गर्न बुटवल उपमहानगरले प्रदेश सरकार समक्ष गाईको राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने माग राखि पटकपटक ज्ञापनपत्र पनि बुझाएको थियो तर मागको सुनुवाई भएन् ।
बुटवल उपमहानगरले यो समस्या दिर्घकालीन रूपमै समाधानका लागि पहल गर्दै आएको छ । त्यसका लागि उपमहानगरका जनप्रतिनिधिलाई धन्यबाद नदिईरहन सकिदैन् । अव ढिलो नगरी प्रदेश सरकारले पनि छाडा चौपायाको व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।
त्यसैगरी यो समस्या समाधानमा सवै नगरबासीको पनि चासो आवश्यक छ । हरेक राजनैतिक दलको बाचापत्रमा छाडा चौपायाको व्यवस्थापनको कुरा उल्लेख हुन्छ तर निर्वाचनपछि बिर्सने समस्या रोगकै रूपमा देखिएको छ ।
कतिपय जनप्रतिनिधिले त चुनावी घोषणापत्रमै छाडा पशु चौपाया व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखेको ताजै छ । पशु चौपायाका कारण आजित भएका सर्वसाधारणलाई जनप्रतिनिधिले चुनावताका जनाएको त्यो प्रतिबद्धता पूरा गर्लान् भन्ने आशा थियो तर, चार वर्ष भयो धेरै पालिकाको प्रतिवद्धताको काम त के चर्चा समेत हुन सकेको छैन् ।
पछिल्लोसमय मूख्य राजमार्गमै पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको अवस्था छ । गाईले दूध दिन छाडेपछि सडकमा ल्याएर बेबारिसे वनाउने ‘पशु’ हरूलाई कडा दण्ड सजायको व्यवस्था गरिनुपर्छ ।
अहिले बुटवल बजारमा खानेकुरा नपाएर गाईवस्तु सडकमा हिँडिरहेको र फोहोरको थुप्रोबाट पेट भरिरहेको दृष्य देख्नुपर्ने अवस्था छ । अव यो अवस्था अन्त्य हुनु जरुरी छ । निश्चितरूपमा राम्रो कामको विरोध पनि हुन्छ । छाडा चौपाया व्यवस्थापनको अभियान चलाईरहँदा बुटवल उपमहानगर नेतृत्वले अपजस पनि सुन्नु परेको छ । छाडा चौपायालाई खेदेर गौशाला पु¥याउन सजिलो छैन् ।
त्यहीक्रममा चौपायामाथि अमानवीय काम भयो भन्दै विरोधको स्वर पनि सुनिएको छ । जेहोस राम्रो काममा कहिँकतै विरोध हुनुले काम गर्नेलाई उत्साहित र सचेत पनि बनाउँछ । तसर्थ अवको दिनमा छाडा चौपाया व्यवस्थापनको कामलाई अझै प्रभावकारी बनाउनेतर्फ उपमहानगरको ध्यान जाओस् ।