Butwal Today

कृत्रिम बौद्धिकता र  बैंकिङ

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-

विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले मानव जीवनका हरेक आयामहरूमा प्रभाव पारेको छ । क्याल्कुलेटर, कम्प्युटर हुँदै आजको AI को विकास हुँदा सम्म प्रविधिको विकासको गति अत्यन्त तीव्र हुँदै गएको छ । दिनानुदिन हुँदै गएको आविष्कार र विकासले मानव स्वयंलाई नै चकित तुल्याएको छ ।

यसरी अप्रत्याशित गतिले विकास भइरहेको प्रविधिले अर्थतन्त्रका सबै क्षेत्रहरूमा व्यापक सम्भावना तथा चुनौतीहरू समेत थपेको छ । समयको गति र मागसँगै बैंक तथा वित्तीय क्षेत्रमा समेत प्रविधिको अधिकतम प्रयोग हुन थालेको छ । प्रविधि प्रयोगको तीव्र आकांक्षा बोकेका युवा पुस्ता तथा त्यसलाई समर्थन गर्ने सरकारी नीतिहरूले Digitization लाई जोडबल पुर्‍याइरहेका छन् ।

ATM, MOBILE BANKING, QR PAYMENT लगायतका उपकरणहरूको व्यापक प्रयोगले बैंकका शाखाहरूमा घण्टौँ लाइन लागेर सेवा लिने दिनहरू बिस्तारै इतिहास बन्ने बाटोमा छन् । यस्तै गतिमा प्रविधिको विस्तार र प्रयोगले भविष्यमा बैंकका भौतिक शाखाहरूको औचित्य नै समाप्त हुने सम्मको बहस शुरु भइसकेको छ । विश्व बैंकिङ जगतमा प्रयोग भइरहेको नयाँ नयाँ प्रविधि र AI को व्यापक प्रयोगले भविष्यमा बैंकिङलाई नै पुनर्परिभाषित गर्ने निश्चित जस्तै देखिन्छ ।

कृत्रिम बौद्धिकता (Artificial Intelligence) के हो ?

मेसिन वा कम्प्युटरद्वारा मानिसले जस्तै बुद्धिको प्रयोग गर्नु नै AI हो । अर्को शब्दमा AI भनेको मेसिनको त्यस्तो क्षमता हो जसले प्राप्त निर्देशहरूकाे विश्लेषण गर्ने, सिक्ने, तर्क गर्ने, निर्णय गर्ने र भविष्यमा सुधार समेत गर्दै जाने कार्य गर्दछ ।

AI ले मानिसहरूले गर्न सक्ने धेरै भन्दा धेरै कामहरू क्षणभरमै गर्न सक्छ । मानिसले जस्तै जटिल कामहरू गर्न AI मा मुख्यतः Learning सिक्ने, Reasoning तर्क गर्ने, Decision Making निर्णय गर्ने र Correction सुधार गर्ने जस्ता क्षमताहरू रहेका हुन्छन् ।

AI को इतिहास बुझ्न सन् 1950 तिर पुग्नुपर्ने हुन्छ जतिबेला ब्रिटिस गणितज्ञ Alan Turing ले मेसिनले सोच्न सक्ने क्षमता राख्छ वा राख्दैन भन्ने Turing Test शुरु गरे । त्यसकै कारण उनलाई AI का पिता समेत भनिन्छ ।

Turing Test बाट विकास हुँदै आएको AI, Machine Learning, Deep Learning हुँदै हालको Generative AI सम्म आइपुगेको छ । Chat GPT, Google Gemini Generative AI का उदाहरणहरू हुन् जसले मानिसले जस्तै सोच्न सक्ने, बोल्न सक्ने, कुनै विषयको जानकारी दिने, चित्र बनाउने आदि जस्ता कामहरू केही सेकेन्डमै गर्न सक्छन् ।

कृत्रिम बौद्धिकता (Artificial Intelligence) र बैंकिङ

AI विकाससँगसँगै बैंकिङमा समेत यसको प्रयोग हुन थालेको छ । छिमेकी देश भारतका HDFC, ICICI र SBI बैंकहरूले AI को व्यापक रूपमा प्रयोग गर्न थालेका छन् भने नेपालमा पनि नबिल बैंक, एन आई सी एशिया बैंक, ग्लोबल बैंक, नेपाल बैंक लिमिटेड लगायतका केही निजी तथा सरकारी बैंकहरूले समेत आफ्नो Website तथा Mobile Banking Application मा Chat bots र Virtual Assistant हरूको प्रयोग गर्न थालिसकेका छन् । बैंकहरूले विशेष गरी ग्राहकको गुनासो सुनुवाइ (Customer Queries), कर्जा क्षमता मूल्याङ्कन (Credit Scoring) र ठगी नियन्त्रण (Fraud Detection) लगायतका क्षेत्रमा AI को प्रयोग गरिरहेका छन् ।

बैंकिङमा AI को प्रयोगले विभिन्न फाइदाहरू समेत भएका छन् जुन यस प्रकार छन् :

  • Website तथा Mobile Banking Application मा Chat bots / Virtual Assistant हरूको प्रयोगले ग्राहकको गुनासो समयमै सम्बोधन गर्न सकिँदा ग्राहक सेवामा सुधार आएको छ ।
    • कर्जा प्रशोधन, Data Entry जस्ता कार्यहरू Automated हुँदा समय र लागतको बचत भई कार्यदक्षता वृद्धि भएको छ ।
    • AI को सहयोगमा शंकास्पद कारोबारको समयमै पहिचान गरी ठगी नियन्त्रण तथा रोकथाममा सहयोग पुगेको छ ।
    • Back Office Work हरू Automated गरी सञ्चालन लागत घटाउन सम्भव भएको छ ।
    • बजारको प्रवृत्ति अध्ययन, ग्राहकको प्राथमिकता तथा व्यवहार अध्ययन गरी नयाँ Product design तथा Innovation मा सघाउ पुगेको छ ।
    • देशका सबै क्षेत्र र भागमा रहेका जनताहरूमा प्रविधिको पहुँचमार्फत 24/7 सेवा उपलब्ध गराई वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको छ ।

AI तथा प्रविधिको प्रयोगले सहजतासँगसँगै विभिन्न चुनौतीहरू समेत थप गरेका छन् जुन यस प्रकार उल्लेख गर्न सकिन्छ :

  • कमजोर वित्तीय साक्षरता भएका हाम्रो जस्तो देशमा अनलाइन ठगी, Cyber Attack लगायतका प्रविधिजन्य अपराध बढेका छन् ।
    • ग्राहकका गोप्य सूचनाहरूको गलत प्रयोग हुनबाट बचाउनु बैंकहरूलाई चुनौती छ ।
    • बैंकका विभिन्न सेवाहरू प्रयोगका सम्बन्धमा AI जस्ता प्रविधिमा बढी निर्भर हुँदा तिनले प्रयोग गर्ने विभिन्न Module हरूले ग्राहक प्रति पक्षपाती निर्णय हुन गई भेदभाव हुन सक्ने जोखिम रहन्छ ।
    • मानिसहरूले गर्ने धेरै कामहरू AI द्वारा प्रतिस्थापन हुँदा मानिसहरूको रोजगारी गुम्ने खतरा रहन्छ ।
    • AI ले प्रयोग गर्ने विभिन्न Module ले गर्ने निर्णयहरूमा समयमै ध्यान पुग्न नसक्दा नियामकीय उल्लंघन (Regulatory Breach) हुन सक्छ ।
    • Black Box Problem (AI ले कसरी काम गरिरहेको छ भन्ने बुझ्न नसकिने समस्या)

अबको बाटो :

बैंकिङ क्षेत्रमा AI लगायतका प्रविधिहरूको प्रयोग र यसबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्दै सुरक्षित, भरपर्दो र विश्वसनीय बैंकिङ सुविधा मार्फत अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदान बढाउने अवसर समेत उपलब्ध भएका छन् । यसै सन्दर्भमा नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति २०८२ तथा नेपाल राष्ट्र बैंकले समेत December 2025 मा Artificial Intelligence Guidelines 2025 जारी गर्दै AI प्रयोगको स्पष्ट खाका प्रस्तुत गरेको छ ।

उक्त Guidelines र विद्यमान कानुनहरूको पालना गरी विकसित प्रविधिको भरपूर प्रयोग गर्दै सुविधायुक्त, सुरक्षित, विश्वसनीय तथा दिगो बैंकिङ सेवाको निरन्तरता नै आजको आवश्यकता हो ।

आचार्य राष्ट्रिय वाणिज्य बैंक लि. लुम्बिनी प्रादेशिक कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?