© 2026
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणघाट सडक खण्डको सास्ती छिटै हट्ने गरी काम अघि बढेको छ।
सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार नागढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपश्चात् सडक विभागले निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको हो।
महानिर्देशक डा. जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए। उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्।
नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेपछि उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो। अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ। भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरु सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरु, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ,’ उनले भने।
महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए।
दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको उनले बताए। जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए।
‘विगतको वर्षहरुको जस्तो बर्खामा समस्या हुँदैन। हामीले धेरैजसो कामहरु गरिसकेका छौं। एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भइरहेको छ। जेठ १५ सम्म मुख्य कामहरु सकिन्छ। धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन,’ उनले भने।
अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए।
उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन्। प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो।