Butwal Today

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड

१ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस भएको छ ।  राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गरेका हुन ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जबाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । “बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जबाफदेही हुनुपर्छ”, उनले भने ।

राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे ।

प्रतिवेदनले औँल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जबाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरे ।

बेरुजु कम गर्दै आर्थिक अनुशासन, जबाफदेहिता, पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?